धेरै भारी वर्षापछि कैयौँ नदीमा जल सतह बढ्यो, सुस्तामा दर्जनौँ घर डुबानमा

वृद्धालाई सुरक्षित स्थानतर्फ डोर्‍याउँदै सुरक्षाकर्मी
Published
पढ्ने समय: ४ मिनेट

जलसतह बढेर नारायणी नदीको पानी शनिवार सुस्ताको बस्तीमा पस्दा ७० वटा भन्दा बढी घरहरू डुबानमा परेको स्थानीय अधिकारीहरूले बताएका छन्।

डुबानबाट प्रभावित बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए।

"करिब एक हजार बासिन्दाहरू हुनुहुन्छ। तर कतिपय आफन्तकहाँ जानुभएको छ भने ४०० जतिलाई हामीले सुरक्षित स्थानमा अहिले सारेका छौँ," बीबीसी न्यूज नेपालीसँग उनले भने। प्रजिअ नेपालले आफू पनि प्रभावित क्षेत्रतर्फ जान लागेको बताए।

लाइफज्याकेट लगाएका सशस्त्र प्रहरीहरूले स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ जान सघाइरहेको तस्वीरहरूमा देखिएको छ।

धेरै भारी वर्षा मापन

मौसम पूर्वानुमान महाशाखाका अनुसार गत २४ घण्टामा उसका डेढ दर्जनभन्दा केन्द्रहरूमा वर्षा मापन गरिएको छ।

"कम्तीमा हाम्रा २० वटा मापन केन्द्रहरूमा १०० मिलिमिटरभन्दा माथि पानी परेको मापन गरिएको छ। १०० मिलिमिटरभन्दा माथिको पानीलाई धेरै भारी वर्षा भन्ने गरिएको छ," महाशाखास्थित मौसमविद्‌ सञ्जीव अधिकारीले बीबीसी न्यूज नेपालीसँग भने।

गत २४ घण्टामा म्याग्दी, कास्की, लमजुङ, मनाङ, गोरखा, स्याङ्जा, पाल्पा, अर्घाखाँची, बाँके, बर्दिया, दैलेख, कालिकोट, सुर्खेत, हुम्लामा, अछाम, डोटी, डडेलधुरालगायतका केन्द्रमा भारी वर्षा मापन गरिएको उनले जानकारी दिए।

कैयौँ ठाउँमा पानी परिरहँदा हिमाली भेगका केही स्थानमा शनिवार हिमपात भएको महाशाखाले जनाएको छ। "हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात भएको छ," मौसमविद्‌ अधिकारीले भने।

बाढी तथा पहिरोका कारण देशभरिका विभिन्न राजमार्गहरू अवरुद्ध हुँदा सवारी आवागमन ठप्प हुन पुगेको प्रहरीले जनाएको छ।

विभिन्न नदीमा जलसतह बढेको छ

अहिलेको अवस्था के छ?

हाल देशभरि मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद्‌ अधिकारीका अनुसार हाल न्यूनचापीय प्रणाली भारतको उत्तर प्रदेश आसपासमा रहेको छ र नेपालमा त्यसले प्रभाव पारिरहेको छ।

त्यो आगामी १२ घण्टामा क्रमशः कमजोर भई न्यूनचापीय क्षेत्रमा परिणत हुने सम्भावना रहेको महाशाखाले बताएको छ।

"शनिवारको हकमा गण्डकी प्रदेश र त्यहाँदेखि पश्चिमसम्म बढी जोखिम रहन्छ। आइतवार गण्डकीदेखि पश्चिमका प्रदेशमा मात्रै रहने र बाग्मती प्रदेशमा धेरै सुधार आइसक्ने देखिन्छ," मौसमविद्‌ अधिकारीले अगाडि भने।

आइतवार दिउँसोबाट मौसममा क्रमिक सुधार हुन थाल्ने र सोमवारसम्म धेरै सुधार भइसक्ने पूर्वानुमान रहेको उनले बताए।

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाण्डू भित्रिने चितवनमा रोकिएका मालवाहक ट्रक

शनिवार साँझ नेपाल मौसम विज्ञान महाशाखाले जारी गरेको विवरणमा देशभर अधिकांश स्थानमा बादल लागेको जनाइएको थियो।

त्यसबाहेक गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धेरै स्थान, बागमती र कर्णाली प्रदेशको केही स्थानमा साथै कोशी र मधेश प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको उल्लेख गरिएको थियो।

विभागले शनिवार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका अधिकांश स्थानमा तथा बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै तथा कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना उल्लेख गरेको छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका अधिकांश स्थानमा, मधेश प्रदेशका तराईका धेरै स्थानमा तथा कोशी प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना विभागले औँल्याएको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना औँल्याइएको छ।

विभागले भनेको छ, "गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी तथा मधेश र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ| मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।"

विभागले गरेको पूर्वानुमान अनुसार आइतवार दिउँसो सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ| लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको भनिएको छ।

जलसतह सतर्कता तहमाथि

जलसतह बढिरहँदा सतर्क रहन अपिल गरिएको छ

पछिल्ला दिनको वर्षासँगै देशका विभिन्न ठूला नदी र तिनका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

यो समाचार तयार पार्ने बेलासम्म कोशी, नारायणी र तिनका सहायक नदीहरूमा जलसतह सतर्कता तह माथि रहेको छ भने बाग्मती, पश्चिम राप्ति, बबई र तिनका सहायक नदीहरूको बहाव सतर्कता तह नजिक रहेको छ।

महाशाखाका अनुसार ताप्लेजुङ, काठमाण्डू, भक्तपुर, ललितपुर, मकवानपुर, पर्सा, रसुवा, नुवाकोट, धादिङ, चितवन, दाङ, अर्घाखाँची, रुकुम पूर्व, रुकुम पश्चिम, प्युठान, रोल्पा, सल्यान, जुम्ला, कालिकोट, दैलेख, बाजुरा, अछाम, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।

त्यसै गरी गोरखा, लमजुड, कास्की, मनाङ, मुस्ताङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, डोल्पा, जाजरकोट, रूपन्देही, कपिलवस्तु म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, मुगु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर, डोटी, हुम्ला डडेल्धुरा र आसपासका जिल्ला भई बहने साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना रहेको उसले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।