जापानी प्रधानमन्त्रीको भारत भ्रमणबारे चीनमा कस्ता टिप्पणी भए

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री सनाए तकाइची

तस्बिर स्रोत, Narendra Modi/FB

Published
पढ्ने समय: ६ मिनेट

जापानी प्रधानमन्त्री सनाए तकाइचीको जुलाई १ देखि ३ सम्म भएको भारत भ्रमणप्रति चीनको पनि नजर थियो।

चीनले शुक्रवार कुनै तेस्रो देशलाई लक्षित गरेर वा अर्को कुनै देशको हितमा क्षति पुर्‍याउनका लागि द्विपक्षीय सहकार्य हुन नहुने बतायो।

सनाए तकाइचीको भ्रमणका क्रममा भारत र जापानले स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको वकालत गरेका थिए। चीनले यो विषय यस क्षेत्रका देशहरूको साझा आकाङ्क्षाविरुद्ध रहेको टिप्पणी गरेको थियो।

भारतस्थित चिनियाँ दूतावासकी प्रवक्ता यू जिङले शुक्रवार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जिकुनको भनाइ उद्धृत गर्दै तकाइचीको भ्रमणबारे टिप्पणी गरेकी थिइन्।

जापानकी प्रधानमन्त्री तकाइचीको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा गुओले भनेका थिए: "कथित स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको अवधारणा शान्ति, विकास र सहकार्यसम्बन्धी क्षेत्रीय देशहरूको साझा आकाङ्क्षाविरुद्ध छ र यसले कहिल्यै वास्तविक स्वीकृति पाउने छैन।"

उनले थपे, "युद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्था र संयुक्त राष्ट्रसङ्घको विधानका उद्देश्यहरूको रक्षा गर्नु एशिया–प्यासिफिक क्षेत्रको समृद्धि र स्थिरताको आधार हो, र यो क्षेत्रीय देशहरूको साझा जिम्मेवारी पनि हो।"

'ग्लोबल टाइम्स'को टिप्पणी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री सनाए तकाइची

तस्बिर स्रोत, Raj K Raj/Hindustan Times via Getty Images

चीनको आधिकारिक प्रतिक्रियाभन्दा फरक ढङ्गले सत्तारूढ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने अङ्ग्रेजी दैनिक ग्लोबल टाइम्सले जापानकी प्रधानमन्त्रीलाई लिएर टिप्पणी गरेको छ।

ग्लोबल टाइम्सले लेखेको छ, "भारत भ्रमणका क्रममा जापानकी प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुस्कुराउँदै अभिवादन गरिन् र 'ठूल्दाइ' भनिन्। तर पछि जापानी प्रतिनिधिमण्डलले धाराको पानी प्रयोगमा रोक लगाएपछि सरकारी विमानबाट बोतलमा पानी ल्याइएको समाचार एक जापानी सञ्चारमाध्यमले प्रकाशित गर्‍यो। केही पर्यवेक्षकका अनुसार यो विरोधाभासी व्यवहारले भारतप्रति जापानको असंवेदनशील, औपचारिक र तिरस्कारपूर्ण दृष्टिकोण देखाउँछ।"

अर्को रिपोर्ट उद्धृत गर्दै ग्लोबल टाइम्सले जापानी सञ्चारमाध्यम एबेमा टाइम्सका अनुसार जापानी प्रतिनिधिमण्डलको भारत बसाइका क्रममा स्वच्छतासम्बन्धी कडा निर्देशन जारी गरिएको थियो।

ती निर्देशनमा कुनै पनि अवस्थामा धाराको पानी प्रयोग नगर्न, कुल्ला समेत नगर्न र सबै कुराका लागि बोतलका मिनरल पानीमात्र प्रयोग गर्न भनिएको थियो।

प्रस्थानअघि सरकारी विमानमा ठूलो मात्रामा मिनरल पानी राखिएको विवरण आएका थिए।

रणनीतिक मामिलाका जानकार ब्रह्मा चेलानीले लेखेका छन्, "जापानले स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको मुद्दा प्रमुखताका साथ उठाउँदै आएको छ। यो अवधारणा जापानी प्रधानमन्त्री शिन्जो आबेले प्रस्तुत गरेका थिए, जुन पछि अमेरिकी क्षेत्रीय रणनीतिको केन्द्रीय आधार बन्यो।"

उनका अनुसार अमेरिकाले "इन्डो-प्यासिफिक" शब्दबाट "इन्डो" शब्द हटाए तापनि जापान अझै पनि "इन्डो-प्यासिफिक" र "स्वतन्त्र र खुला इन्डो-प्यासिफिक"को अवधारणामा अडिग छ।

"जापानकी प्रधानमन्त्रीले नयाँ दिल्लीमा आयोजित १६औँ जापान-भारत वार्षिक शिखर सम्मेलनका लागि हालैको भारत भ्रमणका क्रममा यस कुरामा विशेष जोड दिएकी थिइन्," उनले लेखेका छन्।

'चीनविरुद्ध भारत–जापान मित्रता'?

चिनियाँ प्रधानमन्त्री सी र जापानी प्रधानमन्त्री सनाए तकाइची

तस्बिर स्रोत, STR/JAPAN POOL / JIJI PRESS/AFP via Getty Images

जापानी प्रधानमन्त्रीको भ्रमणप्रति चीनको दृष्टिकोणलाई लिएर त्यहाँका सञ्चारमाध्यममा चर्चाको विषय बनेको थियो।

हङकङस्थित साउथ चाइना मर्निङ पोस्टले विश्लेषकहरूलाई उद्धृत गर्दै लेखेको छ, "तीनदिने भ्रमणको व्यापक उद्देश्य इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावबारे चिन्तित देशहरूको गठबन्धन बलियो बनाउनु हो। साथै, घरेलु आर्थिक कठिनाइका कारण जनसमर्थन घट्दै गएकी तकाइचीलाई 'सहज जित' दिलाउने प्रयास पनि हुन सक्छ।"

टोक्योको वासेदा विश्वविद्यालयका राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धका सह–प्राध्यापक बेन एशियोनले उक्त सञ्चार माध्यममा प्रकाशित आफ्नो लेखमा उल्लेख गरे अनुसार सुरक्षा र अर्थतन्त्र जापान र भारतका दुवै लागि महत्वपूर्ण छन्।

"तकाइची जापानको सुरक्षा रूपान्तरणलाई तीव्र बनाउन चाहन्छिन् र भारतलाई प्रमुख साझेदारका रूपमा देखाउन खोजिरहेकी छन्। तर भारतले ती विचार कति र कुन हदसम्म साझा गर्छ, त्यो हेर्न बाँकी छ।"

उनका अनुसार, 'फ्री एन्ड ओपन इन्डो–प्यासिफिक' अभियानको मूल उद्देश्य एशिया–प्यासिफिक क्षेत्रीयताभन्दा अगाडि बढ्दै भारतलाई चीनविरुद्ध सन्तुलनकारी शक्तिका रूपमा मजबुत रूपमा जोड्नु हो। तर भारत त्यस भूमिकामा कति तयार छ भन्ने कुरा चीनसँगका सम्बन्धमा निर्भर गर्छ।

"चीनसँगको सीमामा तनाव बढ्दा भारत अमेरिका र जापानसँग सहकार्यतर्फ बढी खुला देखिन्थ्यो। तर सम्बन्ध स्थिर हुँदा भने भारत जापानको सुरक्षा समर्थक समूहले अपेक्षा गरेको भूमिका निभाउन कम इच्छुक देखिन्छ," उनी भन्छन्।

चीन र जापानबीचको सम्बन्ध किन राम्रो छैन?

चिनियाँ प्रधानमन्त्री सी र जापानी प्रधानमन्त्री सनाए तकाइची

तस्बिर स्रोत, Getty Images

चीन र जापानको सम्बन्ध लामो समयदेखि तनावपूर्ण छ। ताइवानसम्बन्धी मुद्दाले पनि दुवैबीच टकराव बढाएको छ।

जापानकी प्रधानमन्त्री तकाइचीले सन् २०२५ को नोभेम्बर ७ मा चीनले ताइवान नियन्त्रणमा लिन युद्ध गरे जापानको अस्तित्वमै सङ्कट आउन सक्ने बताएकी थिइन्।

यस्तो अवस्थामा जापानलाई अमेरिकाको सहमतिमा सेना परिचालन गर्ने कानुनी आधार मिल्ने उनको तर्क थियो।

चीन ताइवानलाई आफ्नो हिस्सा मान्छ। एक चीन नीतिलाई मान्ने देशहरूको ताइवानसँग स्वतन्त्र कूटनीतिक सम्बन्ध हुँदैन।

तकाइचीको भनाइपछि चीनले कडा विरोध जनाउँदै आन्तरिक मामिलामा हस्तक्षेपको आरोप लगायो र आफ्नो भनाई फिर्ता लिन माग गर्‍यो। तर जापानी प्रधानमन्त्रीले आफ्नो भनाइको बचाउ गरिन्।

जापानी प्रधानमन्त्रीको यो अभिव्यक्तिबाट चीन आक्रोशित भएको थियो र उसले कडा विरोध व्यक्त गरेको थियो।

चिनियाँ सरकारले तकाइचीलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप समेत लगाएको थियो।

चीन र जापान एसियाका दुई शक्तिशाली राष्ट्र र यस क्षेत्रका ठूला व्यापारिक साझेदार पनि हुन्।

विवादित द्वीप वरपर चीनको बढ्दो सैन्य गतिविधि, व्यापार प्रतिबन्ध र ताइवान स्ट्रेटको शान्ति–स्थिरतासम्बन्धी चिन्ताले दुवैबीच तनाव कायम राखेको छ।

दुई देशले सैन्य अभ्यासलाई बढाएका छैनन्। तर चिनियाँ जहाजहरूले हरेक दिन विवादित टापुहरूमा गस्ती गर्दै आएका छन् र जापानी जहाजहरूले तीनको नजिकबाट निगरानी गर्छन्।

चीन र जापानबीच शत्रुताको इतिहास

जापानी सेनाको पुरानो तस्बिर

तस्बिर स्रोत, Getty Images

जापान–चीन शत्रुताको इतिहास सन् १९३७ डिसेम्बरमा चिनियाँ सहर नानजिङमा भएको नरसंहारसँग जोडिएको छ।

जापानी सेनाले यो सहर कब्जा गरेपछि हत्या, बलात्कार र लुटपाट गरेको बताइन्छ। यो नरसंहार सन् १९३८ मार्चसम्म चलेको र करिब साढे दुई लाख देखि तीन लाख मानिसको मृत्यु भएको बताइन्छ। मारिनेमा धेरैजसो महिला र बालबालिका लगायत थिए।

आजको चीनको आर्थिक–सैन्य उदयमा यस इतिहासको प्रभाव रहेको विश्लेषकहरू बताउँछन्।

जापानले चीनमाथि आफ्नो पकड क्रमशः बलियो बनाउँदै गयो। अर्कोतर्फ, चीन कम्युनिस्ट र राष्ट्रवादीहरूबीचको गृहयुद्धमा फसेको थियो। चिनियाँ राष्ट्रवादी नेता च्याङ काइ–शेकले नानजिङलाई राष्ट्रिय राजधानी घोषणा गरेका थिए।

धेरै जापानीहरू चीनमा जापानले गरेका अत्याचारहरू त्यहाँका पाठ्यपुस्तकहरूमा बढाइचढाइ गरेर प्रस्तुत गरिएको ठान्छन्।

जापानले चीनको मञ्चुरिया कब्जा जमाएपछि सन् १९३७ मा व्यापक युद्ध सुरु भएको थियो। लाखौँ चिनियाँको ज्यान गएको भनिएको यो युद्ध सन् १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्यसँगै समाप्त भयो।

दोस्रो विश्वयुद्धका क्रममा पूर्वी एशिया युद्धको मैदान बनेको थियो। यस क्षेत्रमा राष्ट्रिय पहिचानलाई केन्द्रमा ल्याउन दोस्रो विश्वयुद्धले महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ।

आजको चीन आर्थिक र सैन्य शक्तिका हिसाबले निकै अगाडि बढिसकेको छ, तर यो यात्रामा उसको अतीतले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ।

चीनले आफ्ना नागरिकहरूलाई सन् १८३९ को पहिलो अफिम युद्धदेखि दोस्रो विश्वयुद्धसम्म आफूले भोगेका अत्याचारहरू निरन्तर सम्झाइरहन्छ।

चिनियाँ नागरिकहरूलाई जापान र पश्चिमी उपनिवेशवादीहरूले कसरी अपमान र शोषण गरेका थिए भन्ने कुरा नबिर्सने गरी पढाइन्छ।

चीनले सन् २०१४ देखि नानजिङ नरसंहारको स्मृतिमा हरेक वर्ष १३ डिसेम्बरमा सार्वजनिक बिदा मनाउँदै आएको छ र जापानसँग माफीको माग गर्दै आएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।