देश वा विदेशमा आर्जित 'क्रेडिट' सञ्चय र स्थानान्तरबारे नयाँ निर्देशिकाले विद्यार्थीलाई कस्ता फाइदा

विश्वविद्यालयका विद्यार्थीहरू

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

देशभित्र वा बाहिर पढेर आर्जन गरिने शैक्षिक 'क्रेडिट'लाई जम्मा गर्न अनि एक ठाउँ (कलेज/विश्वविद्यालय)बाट अर्कोमा जाँदा सार्न मिल्ने प्रबन्धका लागि विश्वविद्यालय अनुदान आयोगले हालै जारी गरेको निर्देशिका विद्यार्थी तथा कलेजहरूलाई उपयोगी हुने जानकारहरूले बताएका छन्।

यसअघि विश्वविद्यालयहरूले आफ्नै ढङ्गबाट व्यवस्थापन गरिरहेको विषयलाई औपचारिक निर्देशिकामार्फत् गर्दा 'राम्रै हुने' उनीहरूले बताएका छन्।

लाखौँ विद्यार्थी विदेशमा गएका तथा देशभित्रै पनि थुप्रै विश्वविद्यालयमा छरिएर पढ्ने हुँदा नयाँ व्यवस्थाले नेपाली विद्यार्थी तथा अभिभावकहरूलाई समेत सहज हुने उनीहरूको आशा छ।

निश्चित सर्त पूरा गरी गरिएको पढाइलाई 'क्रेडिट'मा नापेर त्यसलाई एक शैक्षिक संस्थाबाट अर्को शैक्षिक संस्थामा सार्न मिल्ने हुँदा विदेशको पढाइलाई स्वदेशमा निरन्तरता दिन तथा बीचमा छाडेको पढाइलाई अघि बढाउन यसले मद्दत गर्ने ठानिएको छ।

के हो 'शैक्षिक क्रेडिट ब्याङ्क'?

नेपालभरिका १५ वटा सङ्घीय तथा सात वटा प्रदेश विश्वविद्यालयका निम्ति स्रोत व्यवस्थापन गर्ने छाता संस्था विश्वविद्यालय अनुदान आयोगले अक्याडमिक (शैक्षिक) क्रेडिट ब्याङ्कको स्थापना र सञ्चालन निर्देशिका, २०८२ जारी गरेको सूचना गत साता (साउन १८) दिएको थियो।

उक्त निर्देशिकामा "मुलुकभित्र एवं बाहिर विद्यार्थीले उच्च शिक्षा अध्ययन गरी आर्जन गरेको शैक्षिक क्रेडिट सञ्चय र ट्रान्स्फर गरी उच्च शिक्षाका विद्यार्थीहरूको गतिशीलता तथा निरन्तरतालाई प्रवर्द्धन गर्न आवश्यक देखिएकाले विश्वविद्यालय अनुदान आयोगले यो निर्देशिका जारी गरेको छ" भनिएको छ।

निर्देशिकाले गरेको व्याख्याअनुसार "क्रेडिट भन्नाले विद्यार्थीले १५-१६ घण्टा सिकाइ अभ्यास गरेबापत आर्जन गरेको शैक्षिक मूल्यको एकाइगत मापन सम्झनुपर्छ।"

निर्देशिकामा आयोगले डिजिटल प्ल्याट्फर्ममा एउटा शैक्षिक क्रेडिट ब्याङ्क स्थापना गर्ने र त्यसले क्रेडिट प्रमाणीकरण, सञ्चय तथा स्थानान्तरणसम्बन्धी सेवा दिने भनिएको छ।

"विद्यार्थीले अन्य देशमा अध्ययन गरेर आर्जन गरेको क्रेडिटलाई सञ्चय गरी भविष्यमा आफ्नो आवश्यकताअनुसार ट्रान्स्फर र उपयोग गर्न सक्ने गरी" क्रेडिट ब्याङ्कमा जम्मा गर्न सकिने निर्देशिकामा उल्लेख छ।

विद्यार्थीहरूले सो प्रबन्धको उपयोग गर्नका निम्ति सो ब्याङ्कमा खाता खोल्नुपर्छ। त्यस्तो खाता खोल्दा व्यक्तिगत विवरण, शैक्षिक प्रमाणपत्र र मान्यताप्राप्त उच्च शैक्षिक संस्थाबाट आर्जन गरेको क्रेडिट विवरणलगायतका कागजात पेस गर्नुपर्छ।

"विकसित देशहरूमा पचासौँ वर्षदेखि यस्ता (क्रेडिट ट्रान्स्फर) प्रबन्ध कायम छन्। तर हामीकहाँ चाहिँ त्रिभुवन विश्वविद्यालयभित्रै पनि जुम्लामा पढेको विद्यार्थी काठमाण्डूमा ट्रान्सफर गर्नु पर्‍यो भने नमिल्ने स्थिति थियो। सरकारी कलेजबाट अन्य कलेजमा सर्न पाउँथ्यो तर सरकारी कलेजमा सर्न पाउँदैनथ्यो," विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक खड्गबहादुर केसीले बीबीसीलाई बताए।

विद्यार्थीलाई 'उपयोगी'

त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष समेत रहेका प्राध्यापक केसी क्रेडिट स्थानान्तर भयो भने विद्यार्थी तथा शैक्षिक संस्था सबैलाई सहज हुने बताउँछन्।

"क्रेडिट ट्रान्स्फर भयो भने के हुन्छ भने सुर्खेतमा पढेको विद्यार्थीलाई कीर्तिपुरमा आएर पढाइलाई निरन्तरता दिन वा एउटा विश्वविद्यालयमा पढेका विद्यार्थीलाई अर्को विश्वविद्यालयमा जान मान्यता प्राप्त हुन्छ," उनले भने।

नेपाल प्राध्यापक सङ्घका अध्यक्ष प्राध्यापक रमेशप्रसाद जोशी पनि यसलाई उचित पहल ठान्छन्।

"अहिले त देशमै पनि भिन्नभिन्न विश्वविद्यालयमा विद्यार्थीहरू पढिरहेका हुन्छन्। विदेशमा पढ्ने थुप्रै छन्। कोही अभिभावकहरू कामको सिलसिलामा पनि विदेश गएर पढेका हुन्छन्। उनीहरूलाई अब यहाँ आउँदा सजिलो हुने भयो," प्राध्यापक जोशीले भने।

"योभन्दा अगाडि यस्तो प्रावधान थिएन। नयाँ नै हो। अब विद्यार्थीहरूले क्रेडिट सार्ने औपचारिक व्यवस्था हुने भयो।"

प्राध्यापक जोशीले अहिले 'तीन क्रेडिट' भनेको लगभग एक सेमेस्टर वा ४५ पिरिअडसरह हुने बताए। "विगतमा हामी कक्षाघण्टा भन्थ्यौँ। अचेल क्रेडिट भन्छौँ। यो विद्यार्थीको यति क्रेडिट छ भनिएको हुन्छ। अब उसले अन्त त्यो पढाइ गर्न जाँदा क्रेडिट सङ्ख्या पुग्यो भने खुरुक्क पढ्न पाइहाल्यो, होइन भने थप अतिरिक्त पढाइ 'क्र्याश कोर्स' वा थप ट्राइमेस्टर/सेमेस्टर पढ्नुपर्ने हुन सक्छ," प्राध्यापक जोशीले बताए।

विश्वविद्यालयका विद्यार्थीहरू

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, आफूले एक ठाउँबाट पाएको शैक्षिक क्रेडिटलाई अर्को ठाउँमा सार्न पाउने विषय विद्यार्थीहरूलाई उपयोगी हुने जानकारहरू बताउँछन्

निर्देशिकाभन्दा पहिले विभिन्न विश्वविद्यालयहरूले आफैँ यस विषयमा प्रबन्ध गर्दै आएको बताइन्छ।

काठमाण्डू विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक अच्युत वाग्लेले त्यहाँको अनुभव सुनाए।

"हामीकहाँ अन्य विश्वविद्यालयमा पढेर आर्जन गरेको क्रेडिटको ५० प्रतिशतसम्म मान्यता दिने भन्ने थियो। अब निर्देशिकामा चाहिँ पाठ्यक्रम तथा क्रेडिट घण्टा मिलानजस्ता केही सर्तहरूसहित शतप्रतिशतसम्म सार्न पाउने विषय हो," प्राध्यापक वाग्लेले भने।

अहिलेको जमानामा लचिलो सिकाइ वातावरण महत्त्वपूर्ण हुने भन्दै त्यसका लागि क्रेडिट स्थान्तरण उपयोगी हुने उनले बताए।

"संसारभरि चार, पाँच वा आठ वर्ष निरन्तर कलेज गएर पढ्ने प्रवृत्ति कम भइरहेको छ। अनुभव पनि ज्ञान हो भन्ने कुरालाई सीमित मात्रामा मान्यता दिने कुरा हो। थोरैथोरै क्रेडिट आर्जन गरेर जम्मा गर्दै जाने र त्यो जता पनि मान्यताप्राप्त हुने भन्ने विषयसँग यो सम्बन्धित छ। यो जरुरी छ," प्राध्यापक वाग्लेले बताए।

विश्वविद्यालय अनुदान आयोगका अधिकारीहरूका अनुसार निर्देशिकामा भनिएजस्तो क्रेडिट ब्याङ्कको स्थापना र त्यसमा विद्यार्थीहरूले खाता खोल्नका निम्ति चाहिने सफ्टवेअर र मोबाइल एपजस्ता आवश्यक डिजिटल पूर्वाधार बनाउने तयारी भइरहेको छ।

"ती कार्यहरू भएपछि विद्यार्थीहरूले आफूले पढेको विषयमा आर्जित क्रेडिटलाई ब्याङ्कमा पैसा जम्मा गरेजस्तो यसमा जम्मा गर्न पाउँछन्," आयोगका सहायक निर्देशक सीताराम भट्टराईले जानकारी दिए।

क्रेडिट स्थानान्तर गर्दा जुन स्वदेशी वा विदेशी विश्वविद्यालयमा त्यस्तो क्रेडिट आर्जित गरिएको हो, उसले अनि जुन विश्वविद्यालयमा सर्न लागेको हो, उसले गरी दुवैले मान्यता दिएको हुनुपर्छ।

विदेशमा कति छन् नेपाली विद्यार्थी?

हाल देशभित्र उच्च शिक्षामा अध्ययनरतमध्ये तीन चौथाइ विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा पढ्ने गरेको बताइन्छ। त्यहाँ उच्च शिक्षा अध्ययनरत विद्यार्थीको सङ्ख्या करिब पाँच लाख रहेको बताइन्छ।

देशबाहिर पनि ठूलो सङ्ख्या नेपाली विद्यार्थीहरू छन्। उनीहरूमध्ये अधिकांश उच्च शिक्षाकै निम्ति गएका ठानिन्छ।

आर्थिक वर्ष २०८२/८३मा मात्रै १ लाख १४ हजार विद्यार्थीले विदेश पढ्न 'नो अब्जेक्शन' वा वैदेशिक अध्ययन स्वीकृतिपत्र पाएको शिक्षा मन्त्रालयको आँकडाले देखाउँछ।

सबभन्दा धेरै जापान, अस्ट्रेलिया तथा यूकेलगायतका देशमा पढ्न गएको देखिन्छ।

अध्यागमन विभागको पछिल्लो विवरणमा चाहिँ सन् २०२५ मा १ लाख ३३ हजार नेपालीहरू अध्ययनको उद्देश्यले विदेश गएको देखिन्छ। उक्त वर्ष विदेश जाने नेपालीहरूको कुल सङ्ख्या चाहिँ १७ लाखभन्दा धेरै थियो।

सन् २०२१ यतामात्रै अध्ययनको उद्देश्यले विदेश जानेहरूको सङ्ख्या झन्डै ४ लाख ९० हजार रहेको विभागको आँकडामा देखिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।