२५ वर्षदेखि रुसी सत्तामा रहेका पुटिनले देशलाई अघि बढाए कि पछि धकेले?

बोरिस येल्त्सिन र भ्लादिमिर पुटिन
तस्बिरको क्याप्शन, पुटिन आफूले रुसको सार्वभौमसत्ताको संरक्षण गरेको बताउँछन्
    • Author, स्टीभ रोजन्बर्ग
    • Role, बीबीसी रुस सम्पादक
  • Published
  • पढ्ने समय: ५ मिनेट

म सन् १९९९ को नयाँ वर्षको पूर्वसन्ध्यालाई कहिल्यै बिर्सिन्नँ। त्यतिबेला म बीबीसीको मस्को ब्यूरोमा कार्यरत थिएँ।

एक्कासि रुसका तात्कालिक राष्ट्रपति बोरिस येल्त्सिन पदबाट हटेको खबर आयो। सञ्चार जगत्‌मा यस्ता खबरलाई 'ब्रेकिङ न्यूज' भन्ने गरिन्छ।

उनको राजीनामाले सबैलाई अचम्भीत पारेको थियो। त्यस्तो अचम्ममा पर्नेमा मस्कोस्थित ब्रिटिश सञ्चारकर्मीहरू पनि थिए।

उक्त खबर आउँदा हाम्रो कार्यालयमा कुनै पनि संवाददाता उपस्थित थिएनन्। त्यसले गर्दा मैले नै पहिलो पटक त्यो समाचार बीबीसीका लागि लेख्नु र प्रसारण गर्नुपर्‍यो।

"बोरिस येल्त्सिनले सधैँ आफ्नो कार्यकाल पूरा गर्छु भन्थे तर आज उनले रुसीहरूलाई आफूले विचार बदलेको बताए," मैले त्यस बेला लेखेको थिएँ।

त्यो नै मेरो संवाददाता बन्ने यात्राको थालनी थियो अनि रुसी नेताका रूपमा भ्लादिमिर पुटिनको उदयको आरम्भ पनि।

येल्त्सिनको राजीनामामछि रुसी संविधानअनुसार तात्कालिक प्रधानमन्त्री पुटिन रुसका कार्यवाहक राष्ट्रपति बने। त्यसको तीन महिनापछि उनले राष्ट्रपतिको चुनाव जिते।

क्रेम्लिन छाड्ने बेलामा येल्त्सिनले पुटिनलाई निर्देशन दिएका थिए, "रुसको ख्याल राख्नू है!"

युक्रेनमा रुसी युद्ध तीन वर्षमा प्रवेश गर्दैगर्दा मेरो स्मरणमा येल्त्सिननका ती शब्दहरूलाई बारम्बार आइरहेको पाइरहेको छु किनभने युक्रेनमाथि पूर्ण रूपको हमला गर्ने पुटिनको निर्णयले विध्वंशकारी परिणामहरू निम्त्याएको छ।

युद्धको सुरुमा युक्रेनले त्यस्तो विध्वंसको सामना गर्‍यो। उसका सहरहरूमा व्यापक क्षति पुग्यो भने मानिसहरू हताहत भए। उसको झन्डै २० प्रतिशत भूभाग रुसी कब्जामा गयो र एक करोड नागरिकहरू विस्थापित भए।

त्यसको असर रुसलाई पनि कम परेको छैन:

  • पुटिनले कथित 'विशेष सैन्य अभियान'को निर्णय गरेयता रुसले युद्ध मैदानमा व्यापक क्षति बेहोरेको छ
  • रुसी सहरहरू नियमति ड्रोन हमलाको सिकार भइरहेका छन्
  • युक्रेनी सैनिकहरूले रुसको कुर्स्क क्षेत्रलाई कब्जा गरेका छन्
  • अन्तर्राष्ट्रिय प्रतिबन्धहरूका कारण रुसी अर्थतन्त्रलाई दबाब परेको छ
  • देशको जनसङ्ख्याको अवस्थामा पनि नकारात्मक असर परेको छ
  • देशभित्रै हुने दमन तीव्र भएको छ

पच्चीस वर्षअघि पुटिन रुसी सत्तामा आएदेखि म निरन्तर रिपोर्टिङ गरिरहेको छु।

सन् १९९९ को ३१ डिसेम्बरमा उनलाई कसले साढे दुई दशकपछि पनि रुसको नेता भइरहलान् भनेर सोचेको थियो होला र?

अनि, कसले पो ठानेको थियो होला आज रुसले युक्रेनमाथि आक्रमण गर्नेछ र पश्चिमासँग जोरी खोजिरहन्छ भनेर?

बोरिस येल्त्सिन र भ्लादिमिर पुटिन
तस्बिरको क्याप्शन, बोरिस येल्त्सिनले सन् १९९९ को डिसेम्बर ३१ मा आफूले तत्कालै राजिनामा दिने र राष्ट्रपतिको शक्ति भ्लादिमिर पुटिनलाई हस्तान्तरण गर्ने घोषणा गरेका थिए

येल्त्सिनले आफ्नो उत्तराधिकारी अन्य कोहीलाई छानेको भए इतिहासको बाटो अलग हुने थियो भनेर म बेला बेलामा सोच्ने गर्छु।

वास्तवमा यो प्रश्न प्राज्ञिक हो। यद्यपि इतिहास 'यदि', 'र', 'तर', 'अनि', 'सम्भवतः' जस्ता शब्दले भरिपूर्ण हुन्छ।

म एउटा कुरा निश्चिततापूर्वक के भन्न सक्छु भने मैले २५ वर्षमा पुटिनको विभिन्न रूप देखेको छु।

र, म मात्रै त्यस्तो व्यक्ति होइन।

"मैले भेटेका पुटिन सबैसँग राम्ररी सम्बन्ध राख्थे। उनले 'नेटो-रुस काउन्सिल' गठन गरेका थिए जुन अहिलेको क्षणका लगभग अहङ्कारी (नेता) भन्दा फरक हो," नेटोका पूर्वप्रमुख लर्ड रोबर्टसनले सन् २०२३ मा मलाई भनेका थिए।

"सन् २०२२ को मेमा मसँगै उभिएर उनले युक्रेन सार्वभौम र स्वतन्त्र देश भएको र उसले सुरक्षाका बारेमा आफ्नो निर्णय आफैँ लिने बताएका थिए। यी व्यक्ति अहिले युक्रेन राष्ट्र राज्य नभएको बताइरहेका छन्।"

"मलाई लाग्छ भ्लादिमिर पुटिन नगल्ने खालका जब्बर व्यक्ति हुन् र देशका लागि उनको महत्त्वाकाङ्क्षा ठूलो छ। सोभियत सङ्घले विश्वमा दोस्रो ठूलो महाशक्तिको मान्यता पायो। रुसले त्यस्तो कुनै दाबी गर्न पाउँदैन। मलाई लाग्छ, त्यसले उनको अहम्‌मा ठेस लाग्यो।"

पुटिनमा हामीले देखिरहेको परिवर्तनको यो एउटा व्याख्या हो।

उनको सबैभन्दा उत्कट महत्त्वाकाङ्क्षा भनेको "रुसलाई पुनः महान बनाऔँ" भन्ने हो।

उनी शीतयुद्धमा मस्कोले हार व्योहोरेको भन्ने मान्यतालाई पनि चिर्न र त्यसको क्षतिपूर्ति गर्न चाहन्छन्।

त्यसले गर्दा पनि रुसको आफ्ना छिमेकी र पश्चिमा विश्वसँग टकराब अवश्यम्भावी छ। यद्यपि क्रेम्लिनको व्याख्या अलग्गै छ।

आफूले दिने भाषणहरू र व्यक्त गर्ने प्रतिक्रियामा पुटिनलाई आक्रोशले डोर्‍याइरहेको देख्न सकिन्छ।

भित्रैबाट वर्षौँसम्म रुसलाई ठगिएको, हियाइएको र उसका सुरक्षासम्बन्धी चासोलाई पश्चिमले खारेज गरिदिएको अनुभूति पुटिनमा भएको छनक पाइन्छ।

तर के येल्त्सिनले 'रुसलाई ख्याल राख्न' गरेको आग्रह आफूले पूरा गरेको पुटिन स्वयंले विश्वास गर्छन्?

हालै मैले त्यो पत्ता लगाउने मौका पाएको थिएँ।

चार घण्टाभन्दा लामो उनको वार्षिक पत्रकार सम्मेलनमा पुटिनले मलाई प्रश्न सोध्ने मौका दिए।

रुसी सैनिकको मृत्यु
तस्बिरको क्याप्शन, युक्रेनविरुद्धको लडाइँमा रुसले ठूलो क्षति बेहोरेको छ

मैले उनलाई याद दिलाएँ, "बोरिस येल्त्सिनले तपाईँलाई रुसको ख्याल राख्नू भन्नुभयो। तर तपाईँले भन्ने गरेको 'विशेष सैन्य कारबाही'मा भएको उल्लेख्य क्षति, कुर्स्क क्षेत्रका युक्रेनी फौज, प्रतिबन्धहरू र बढ्दो महँगी, के तपाईँलाई लाग्छ - तपाईँले देशको ख्याल गर्नुभएको छ?"

"हो, लाग्छ," राष्ट्रपति पुटिनले भने, "मैले ख्याल मात्रै राखेको छैन। हामी लगभग शून्यको अवस्थाबाट माथि उठेका छौँ।"

उनले येल्त्सिनले नेतृत्व गरिरहेको रुसलाई सार्वभौमसत्ता गुमाइरहेको देशको रूपमा प्रस्तुत गरेका थिए।

उनले पश्चिमा देशहरूले येल्त्सिनलाई 'धाप मारेर' संरक्षण दिएको र रुसलाई 'आफ्नै उद्देश्यका लागि प्रयोग गरेको' आरोप लगाए।

तर उनले आफूले 'रुस स्वतन्त्र सार्वभौम राष्ट्र' भएको सुनिश्चित गर्न सबै थोक गरिरहेको बताए।

आफूलाई रुसको सार्वभौमसत्ताको रक्षकका रूपमा पुटिनले प्रस्तुत गरेका छन्।

के यो उनले युक्रेनसँगको लडाइँको औचित्य पुष्टि गर्न पछाडि फर्किएर हेर्दा तय गरेको धारणा हो? वा पुटिन आधुनिक रुसी इतिहासको यो मतप्रति वास्तवमै विश्वास गर्छन्?

म निश्चित छैन। अहिलेसम्म निश्चित हुन सकेको छैन। तर मलाई लाग्छ - यो प्रमुख प्रश्न हो।

यसको उत्तर युद्ध कसरी अन्त्य हुन्छ र रुसको भविष्यको बाटो कस्तो हुन्छ भन्नेले प्रभावित पार्नेछ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।