भोटेकोशी-त्रिशूली बाढीको असर शरद् यामको हिमाल आरोहणमा कति?

मनास्लु पदयात्रा

तस्बिर स्रोत, Getty Images

    • Author, विनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

यो वर्षको शरदयाममा हुने हिमाल आरोहणका लागि अहिलेसम्म अनुमतिका लागि आएका आरोहण टोलीको सङ्ख्या हेर्दा रसुवा बाढीले आरोहण क्षेत्रमा असर गरेको नदेखिएको अधिकारीहरूले बताएका छन्।

रुसुवाको भोटेकोशीमा आएको भीषण बाढीले जनधनको व्यापक क्षति पुर्‍याएका भिडिओ सामाजिक सञ्जालमार्फत् विश्वभरी फैलिएका थिए।

त्यसले कतै नेपालको पर्यटनमा असर गर्ने त होइन भन्ने चिन्तामाझ अधिकारीहरूले यस्तो बताएका हुन्।

नेपाल पर्वतारोहण सङ्घले पनि आफूहरूलाई नेपालको हिमाली क्षेत्रको सुरक्षाबारे चासो व्यक्त गरिए पनि यो वर्ष एउटा पनि बुकिङ रद्द नभएको जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन विभागका अनुसार यो वर्ष अहिलेसम्म जम्मा ५१३ जनाले हिमाल आरोहणका लागि अनुमति लिइसकेका छन्। त्यसमा ३७७ पुरुष छन् भने १३६ जना महिला आरोही रहेका छन्।

४६ वटा टोलीका ५१३ जनाले हिमाल आरोहणका लागि अनुमति लिँदा त्यसबाट १४ लाख ३४ हजार १९३ अमेरिकी डलर रोयल्टी उठेको विभागले जनाएको छ।

अनुमति लिएकाको तथ्याङ्कले के देखाउँछ?

नेपालमा पर्वतारोहणका लागि मुख्य दुईवटा यामहरू शरद ऋतु र वसन्त ऋतु चल्ने गरेका छन्।

खासगरी मार्च महिनादेखि मे महिनासम्म हुने वसन्त ऋतुको हिमाल आरोहण सबैभन्दा लोकप्रिय र मुख्य समय हो।

यो याममा सगरमाथा लगायतका ठूला हिमालहरू आरोहण गर्न धेरैजसो पर्वतारोहीहरू आउने गरेको पाइन्छ।

सेप्टेम्बरको मध्यदेखि नोभेम्बरको अन्त्य वा कहिलेकाहीँ डिसेम्बरको पहिलो सातासम्म पर्वतारोहण हुने शरद ऋतु मनसुन सकिएपछिको दोस्रो उत्कृष्ट समय भन्ने गरिएको छ।

शरद ऋतुमा गरिने हिमाल आरोहणका लागि मनास्लु, मकालु, दङ्गा, धौलागिरि, गङ्गापूर्ण वेस्ट, थोरोङ पिक गरी ६ वटा हिमालका लागि ४६ वटा टोलीले अनुमति लिइसकेको विभागले जनाएको छ।

यसमा आमादब्लम र हिमलुङको भने तथ्याङ्क आउन बाँकी रहेको विभागका निर्देशक सुरज घिमिरेले बीबीसीलाई बताए।

"हिमाल आरोहण भनेको उनीहरूले लामो समयदेखि योजना गरेर आउँछन्। एड्भेन्चर टुरिजम भएर उनीहरूले पहिला नै त्यसबारे बृहत् जानकारी राख्ने गर्छन्," उनले भने।

"उनीहरू आरोहणका लागि जाने ठाउँहरूमा बाढीको असर पनि छैन। त्यसले गर्दा ठ्याक्कै पर्वतारोहणमा त्यति धेरै प्रभाव पर्ने देखेका छैनौँ।"

नेपालमा ५५ सय मिटरदेखि ६५ सय मिटरसम्मको हिमाल आरोहणका लागि नेपाल पर्वतारोहण सङ्घले अनुमति दिने गरेको छ।

सङ्घका वरिष्ठ उपाध्यक्ष ईश्वरी पौडेलले यो वर्ष पर्वतारोहणका लागि अनुमति लिइसकेकाहरूबाट चासोचाहिँ धेरै आइरहेको बताए।

"हाम्रै अनुभवमा पनि पर्वतारोहण र पदयात्रा (ट्रेकिङ)मा त क्यान्सल गरिएको छैन। तर पक्का गरिसकेका ट्रिपहरूमा पनि के कसो छ अन्त पनि ताल फुट्छ कि भनेर सोध्न चाहिँ धेरै सोध्छन् र त्यो स्वाभाविक पनि हो," पौडेलले भने।

"हामीले त्यस्तो छैन। एउटा क्षेत्रमा त्यस्तो (बाढी) आए पनि अन्त त्यस्तो छैन भनेर सम्झाइरहेका छौँ। ट्रिप नै रद्द गर्न कोही आएको छैन।"

बरु कतिपयले यस्तो बेला सहयोग गर्न पनि आउनुपर्छ भन्ने खालका कुरा पनि सुनिएको सङ्घका वरिष्ठ उपाध्यक्ष पौडेलले बताए।

ट्रेकिङ र पर्वतारोहणका लागि थुप्रै मानिसहरू मनास्लु हिमालको आधार शिविरमा पुगिसकेको उनले जानकारी दिए।

"४/५ सय विदेशीहरू बेसक्याम्प पुगिसके। यो वर्षका लागि मनास्लुमा पर्वतारोहण सुरु नै भइसक्यो। अरू हिमालमा हुने अक्टोबर नोभेम्बरको पर्वतारोहणका लागि आउने क्रम जारी छ," उनले भने।

"अलि व्यस्त हुने भनेको सेप्टेम्बरको तेस्रो साताबाट हुन्छ।"

ट्रेकिङलगायत पर्यटनमा कस्तो छ असर?

ट्रेकिङ एशोसियशन अफ नेपालका अध्यक्ष सुरेन्द्र पाण्डेले सेप्टेम्बर महिनामा खासगरी बाढीका कारण रसुवागढी हुँदै गरिने कैलाश मानसरोवरको यात्रामा भने असर गरेको बताए।

उनले कैलाश मानसरोवर जाने करिब ७० प्रतिशतले यात्रा रद्द गरेको वा पछाडि धकेलेको भएको बताएका हुन्।

त्यसबाहेक अन्य टुरहरूमा पनि रद्द गर्ने क्रम बढेको बताएका हुन्।

बाढीबारे अन्तर्राष्ट्रिय रूपमा आएका समाचारका कारण पर्यटनमा थोरै असर परेको उनले बताए।

अक्टोबरमा मनसुन पनि सकिने र बाढी पहिरोका घटना पनि हुने भएकाले पर्यटनमा असर नगर्ने आफूलाई लागेको उनले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।