खुला प्रतिस्पर्धाबाट राजदूत छानिनु 'हानिकारक' र 'अव्यावहारिक'

तस्बिर स्रोत, RSS
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ४ मिनेट
वालेन्द्र शाह 'बालेन' नेतृत्वको सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी गरेको भन्ने विवरण बाहिरिएपछि यस विषयले विभिन्न टीकाटिप्पणी निम्त्याएको छ।
बीबीसीसँग कुरा गर्दै दुई जना पाका पूर्वराजदूतले त्यस्तो कदम "हानिकारक" र "अव्यावहारिक" हुन सक्ने बताए। बरु हाल गर्ने गरिएको राजदूतहरूको राजनीतिक नियुक्तिमा सुधार गर्दै अघि बढ्नुपर्ने उनीहरूको सुझाव छ।
नेपालमा हाल ५० प्रतिशत राजदूतहरू 'करिअर डिप्लोम्याट' अर्थात् परराष्ट्र मन्त्रालयका कर्मचारीबाट र बाँकी ५० प्रतिशत राजनीतिक भागबन्डाबाट नियुक्त हुँदै आएका छन्।
वर्तमान सरकारले कति प्रतिशत राजदूत खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने छ भन्नेबारे स्पष्ट पारिसकेको छैन। परराष्ट्र मन्त्रालय स्रोतले उच्च तहबाटै त्यो विषय स्पष्ट हुने बतायो।
नियुक्तिको मापदण्डमा परराष्ट्रमन्त्री शिशिर खनालले काम गरिरहेको र अर्को सातासम्म विज्ञापन आउनसक्ने बताइएको छ।
हाल भारत, चीन, संयुक्त राज्य अमेरिका, यूकेसहित १७ वटा देशमा नेपाली राजदूतावासहरू नेतृत्वविहीन अवस्थामा छन्।
'हानिकारक हुन सक्छ'

भारतका लागि नेपालका भूतपूर्व राजदूत नीलाम्बर आचार्य खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति "उपयुक्त" नहुने बताउँछन्।
"यो हानिकारक पनि हुन्छ। परराष्ट्रमा शाखा अधिकृत हुँदै माथिल्लो तहसम्म पुगेका मान्छे करिअर डिप्लोम्याटबाट राजदूत बन्ने गरेका हुन्छन्। उनीहरूले लामो समय बिताएर अनुभव बटुलिसकेका हुन्छन्," बीबीसी न्यूज नेपालीसँग उनले भने।
"पहिल्यैबाट देखेर उनीहरूले दुई देशबीचको सम्बन्ध बढाउनमा योगदान पुर्याउँछन् भन्ने विश्वासका आधारमा पनि नियुक्त गर्ने गरिन्छ।"
तर प्रतिस्पर्धाबाट राजदूत पदका लागि आउने व्यक्तिका हकमा भने त्यो नहुन सक्ने आचार्य औँल्याउँछन्।
"त्यस्तो नियुक्ति त जागिरजस्तो हुने भयो, विश्वासको हुने भएन। केही मान्छे राम्रा पनि आउलान्, तर नोक्सान गर्ने मान्छे पनि आइपुग्न सक्छन्," उनले थपे।

तस्बिर स्रोत, EPA
'उपयुक्त नआउन सक्छन्'
आवेदन भर्न लगाएर राजदूत चयन गर्न खोजिए सही व्यक्ति नआउन सक्ने जोखिम पनि रहेको परराष्ट्र मामिलाका जानकारहरू बताउँछन्।
निष्ठावान् व्यक्ति राजदूतका लागि आवेदन दिँदै हिँड्ने कुरामा भारतका लागि अर्का भूतपूर्व राजदूत लोकराज बराल विश्वस्त देखिँदैनन्।
"हुन त नेपालमा पदका लागि दौडिएर जान्छन्, कतिपयले आवेदन पनि देलान्। तर अलि आत्मसम्मान भएका, गतिला र स्थापित मानिसहरूले त्यति उत्सकुता देखाउलान् जस्तो मलाई लाग्दैन," बीबीसी न्यूज नेपालीसँग उनले भने।
त्यसमा आचार्य पनि सहमत देखिन्छन्। "राजदूत भनेको एउटा संवेदनशील, जिम्मेवार र महत्त्वपूर्ण पद हो। त्यसरी खोज्दा तपाईँले उपयुक्त मान्छे फेला पार्न सक्नुहुन्न," उनले अगाडि थपे।
'केमेस्ट्री नरहन सक्छ'
पूर्वराजदूतहरूका अनुसार बहालवाला सरकारका विश्वासपात्रका रूपमा राजदूतहरू अरू देशमा खटिएका हुन्छन्।
"राजदूत भनेको तत्कालीन सरकारको विश्वासपात्र भन्ने हुन्छ। खुला प्रतिस्पर्धाबाट नियुक्त गर्दा त्यो केमेस्ट्री (मिलाप) रहँदैन। त्यो मेकानिकल (यान्त्रिक) हुन जान्छ," भूतपूर्व राजदूत आचार्यले भने।
करिअर डिप्लोम्याटबाट अथवा राजनीतिक नियुक्तिबाट विश्वासिलो व्यक्तिलाई राजदूत राख्नु जरुरी हुने गरेको बराल बताउँछन्।
"राजनीतिक दलहरू सत्तामा आएपछि उनीहरूले आफ्ना विश्वासिला मान्छे राख्नुपर्यो नि। उनीहरूलाई पनि त्यो चाहिन्छ," उनले अगाडि थपे।
"तर बाहिरबाट ल्याउँदा कुन पृष्ठभूमिका व्यक्ति आउँछन् भन्ने निश्चित हुँदैन। अनि ल्याइसकेका व्यक्तिलाई फेरि विश्वास गर्नैपर्यो।"
'सुधार गर्दै जानुपर्छ'
समस्या समाधानका निम्ति नेपालले अहिले गर्दै आएको अभ्यासमा सुधार गर्दै अगाडि बढ्नुपर्नेमा पूर्वराजदूतहरूको जोड छ।
त्यसका लागि राजनीतिक नियुक्तिमा भएका कमीकमजोर सच्याउनेदेखि परराष्ट्र मन्त्रालयका कर्मचारीबाट गरिने नियुक्ति बढाउनेसम्मका सुझाव उनीहरूको छ।
"थोरै चाहिँ राजनीतिक नियुक्ति गर्नुपर्छ। भरसक परराष्ट्रबाट धेरै नियुक्त गर्नुपर्छ। बरु भारतमा जस्तै सुरुमै परराष्ट्र मन्त्रालयका लागि कर्मचारी छनौट गर्दा तीक्ष्ण क्षमताका व्यक्तिलाई गर्नुपर्छ," बरालले अगाडि थपे।
प्रतिस्पर्धाबाट गर्ने हो भने परराष्ट्र मन्त्रालयकै कर्मचारीहरू लोकसेवाबाट छानिएर आउने भएकाले उनीहरूलाई नै प्राथमिकतामा राख्नुपर्ने आचार्यको पनि सुझाव छ।
"प्रतिस्पर्धाबाट गर्ने कुरा हो भने परराष्ट्रकै अहिलेको ५० प्रतिशत हिस्सालाई बढाइदिए हुन्छ," उनले भने।
अहिले राजदूत नियुक्तिलाई निकै राजनीतिकीकरण गर्ने गरिएको र योग्यलाई भन्दा आफ्ना मान्छेलाई नियुक्त गर्ने परिपाटी रहेकोले त्यसलाई सच्याउनुपर्ने आचार्य बताउँछन्।
"नियुक्ति गरिने व्यक्ति योग्य र सक्षम हुनुपर्यो। कामबाट निर्देशित हुनुपर्यो। मेरो हिसाबले ठाउँ र जिम्मेवारी प्राथमिक हो। नियुक्ति गर्नेले त्यो ठम्याउनुपर्यो," उनले अगाडि थपे।
अहिलेको अभ्यास त्रुटिपूर्ण भएकोले त्यसलाई सच्याएर अगाडि बढ्नुपर्ने आचार्य बताउँछन्।
"केही राम्रा पनि भएका होलान्, तर धेरै सुधार गर्नुपर्छ। तथापि खुला प्रतिस्पर्धाबाट अहिले गर्न खोजिएको कुरा झन् त्रुटिपूर्ण हुन्छ। त्यसबाट सरकार पछि हट्नैपर्छ," उनले भने।
बराल चाहिँ अहिलेको नियुक्ति "अति राजनीतिकीकरण" हुने गरेकोले र योग्यता नहेरी खल्तीबाट मान्छे नियुक्त गर्ने परिपाटी भएकोले खुलाबाट गर्दा त्यसमा केही सुधार हुन सक्ने सम्भावना भने देख्छन्।
"यदि मापदण्ड बनाएर पढेलेखेका, देश र विदेश बुझेका व्यक्तिहरूलाई छान्ने हो भने राम्रो हुन सक्छ कि," उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

























