बिजुलीमा लगाइएको 'भ्याट परिमार्जन'लगायत अर्थमन्त्रीका अनेक आश्वासन

अर्थमन्त्री स्वर्णिम वाग्ले

तस्बिर स्रोत, RSS

    • Author, शरद केसी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

अर्थमन्त्री स्वर्णिम वाग्लेले बिजुलीमा कर लगाउने भनिएको प्रस्तावमा हेरफेर गर्ने जानकारी दिएका छन्।

प्रतिनिधिसभाको बिहीवार बसेको बैठकमा बहस र आलोचनको विषय बन्न पुगेको मासिक ५० यूनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताले मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्ने प्रस्तावबारे उनले त्यस्तो बताएका हुन्।

"अन्तिम उपभोक्तामा भार नपर्ने गरेर हामी मूल्य समायोजन गर्ने, यो (५ प्रतिशत भ्याट) लगाएकै खण्डमा पनि निःशुल्क हुने ५० यूनिटको थ्रेश्होल्ड बढाएर लगभग ९५ प्रतिशत नेपालीलाई असर नपर्ने गरी तयारी गरिरहेका छौँ," उनले ऊर्जामन्त्री र आफूबीच छलफल भइरहेको जनाउँदै भने, "साउन १ गतेदेखि उपभोक्ताको हितमा नै, आम नेपाली जनताको हितमा नै निर्णयहरू आउने छन्।"

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले "अन्तिम तहको उपभोक्तालाई बिक्री गरिने मासिक ५० यूनिटभन्दा बढीको विद्युत् खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको" बताएका थिए।

अधिकारीहरूका अनुसार खपत हुने ५० भन्दा बढी यूनिटमा ५ प्रतिशत भ्याट लगाउने प्रस्ताव गरिएको थियो।

'क्रान्तिकारी छुट', लाभ लिन आग्रह

संसद्

तस्बिर स्रोत, RSS

अर्थमन्त्री वाग्लेले खर्बौँ रुपैयाँ लगानी भएको र खर्बौँ रुपैयाँ लगानी आवश्यक भएको क्षेत्र भन्दै "कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ठूलो हिस्सा ओगटेको क्षेत्रलाई औपचारिक अर्थतन्त्रको जालोभन्दा बाहिर राख्न सक्ने सुविधा नरहेको" बताए।

"अघिल्ला सरकारहरूले अप्रिय हुने डरले नआँटेको पनि हुन सक्छ," अर्थमन्त्री वाग्लेले भने, "बलियो जनादेश प्राप्त सरकारले यो दीर्घकालीन राष्ट्रिय हितमा रहेकाले आँट्नैपर्ने थियो।"

निजी विद्यालयमा ३ प्रतिशत कर लगाउने विषयमा पनि आफूहरूले बुझाउन नसकेको वा भ्रम छर्न खोजेको उनको भनाइ छ।

"तर करको दायरामा आउनुभएको छ भने बालबालिकाका निम्ति निजी स्कूलमा गरेको खर्चको पनि २५ हजार रुपैयाँसम्म करकट्टी गर्न पाउने व्यवस्था गरेका छौँ," उनले भने, "त्यसैले यो मध्यम वर्गलाई प्रोत्साहन गर्न ल्याइएको बजेट भएको हुनाले बोझ नपर्ने गरी अर्थतन्त्रको अभूतपूर्व औपचारिकीकरणको अभियानमा छौँ, यसपालि जग बसाल्दै छौँ।"

उनले राज्यले दिएका छुटहरूको लाभ लिन पनि आम नागरिकलाई आग्रह गरे। वर्तमान सरकारले १० लाख रुपैयाँसम्मको आम्दानीमा आयकर छुट दिएको बताउँदै उनले भने, "मासिक ८३ हजार र क्रमशः त्यो मासिक १ लाख आम्दानी भएका घरपरिवारले कर तिर्नै नपर्ने गरेर एउटा ठूलो क्रान्तिकारी छुट हामीले दिएका छौँ।"

'आत्मविश्वासी नेपालतर्फको पहिलो तर दृढ कदम'

अर्थमन्त्री स्वर्णिम वाग्ले

तस्बिर स्रोत, RSS

विगत तीन दशकमा नेपालको अर्थतन्त्र मुख्यता विप्रेषण, आयातमा आधारित उपभोग र सम्पत्तिको मूल्यवृद्धिको आधारमा अघि बढेको अर्थमन्त्री वाग्लेको भनाइ छ। उनका भनाइमा त्यसले अर्थतन्त्रलाई केही समय धान्यो, विदेशी मुद्रा सञ्चिति बढायो र लाखौँ परिवारको जीवनस्तर उकास्न मद्दत गर्‍यो।

"तर कुनै पनि राष्ट्रले मुलुकले आफ्ना सबैभन्दा ऊर्जाशील युवालाई निरन्तर विदेश पठाएर दिगो समृद्धि हासिल गर्न सक्दैन," उनको भनाइ छ, "कुनै पनि अर्थतन्त्रले उत्पादनभन्दा उपभोगलाई केन्द्रमा राखेर दीर्घकालीन विकास गर्न सक्दैन र कुनै पनि समाजले उत्पादकत्वको स्थानमा सम्पत्ति मूल्यवृद्धिलाई स्थायी आधार बनाउन सक्दैन।"

त्यसैले वृद्धिदर बढाउने मात्र नभई त्यसको स्रोत परिवर्तन गर्नु नेपालको अहिलेको खाँचो रहेको उनको भनाइ छ।

अहिलेको बजेटले उपभोग-आधारितबाट उत्पादन-आधारित अर्थतन्त्रतर्फ, आयात-निर्भरबाट प्रतिस्पर्धी अर्थतन्त्रतर्फ र विप्रेषण-निर्भरबाट उद्यम, लगानी, नवप्रवर्तन तथा निर्यातमा आधारित अर्थतन्त्रतर्फ सङ्क्रमणको मार्गचित्र प्रस्तुत गरेको उनले बताए।

"हामीले वितरणमुखी राज्यबाट अवसर सृजना गर्ने, संरक्षणमुखी संरचनाबाट प्रतिस्पर्धी संरचनातर्फ र आश्रित मानसिकताबाट आत्मविश्वासी अर्थतन्त्रतर्फको यात्रा प्रारम्भ गर्ने प्रयास गरेका छौँ," अर्थमन्त्री वाग्लेले बजेटको सबैभन्दा ठूलो विशेषता यसको "दिशा" भएको बताउँदै भने, "यथास्थितिको व्यवस्थापन होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौँ।"

उनले लोकप्रियताको सजिलो बाटो नभई समृद्धिको कठिन बाटो रोजेको तर्क प्रस्तुत गरेका छन्। उनले सुधारको यात्रा कहिल्यै पूर्ण नहुने भन्दै आफूले प्रस्तुत गरेको बजेट पूर्ण रहेको दाबी नगर्ने पनि बताए।

तर खर्चको सूची मात्र प्रस्तुत नगरी आगामी दशकको आर्थिक रूपान्तरणको खाका प्रस्तुत गरेको उनको दाबी छ।

"यो बजेट अन्तिम गन्तव्य होइन, उत्पादनमुखी, प्रतिस्पर्धी, नवप्रवर्तनशील, रोजगारीमूलक र आत्मविश्वासी नेपालतर्फको पहिलो तर दृढ कदम चाहिँ हो।"

घोचपेचका बीच शान्त अर्थमन्त्री

हर्कराज राई

तस्बिर स्रोत, RSS

अर्थमन्त्री वाग्ले यसअघि आफूमाथि लागेका आरोपहरूको जबाफ दिने क्रममा आवेशपूर्ण अभिव्यक्ति दिएको भनी आलोचित बनेका थिए।

उनले आफूले कहीँकतै अनियमित कामलाई ढाकछोप नगरेको बताउने क्रममा विपक्षीहरूका कामबारे जानकार रहेको र तिन छानबिन गर्ने चेतावनीपूर्ण अभिव्यक्ति दिएका थिए।

विपक्षी सांसदहरूले बिहीवारको बैठकमा पनि उनलाई व्यङ्ग्य गर्ने र आशङ्काको निसाना बनाउने काम गरेका थिए।

श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्कराज राईले उनलाई "निमित्त प्रधानमन्त्रीज्यू, रक्षामन्त्रीज्यू तथा अर्थमन्त्रीज्यूलाई मेरो प्रश्न" भन्दै आफ्ना प्रश्न राखेका थिए।

त्यस्तै नेकपा एमालेका सांसद ऐन महरले पनि करछली र करका दर हेरफेरका विषयमा अर्थमन्त्रीमाथि प्रश्न उठेको भन्दै संसदीय छानबिनका निम्ति तयार भए-नभएको प्रश्न गरेका थिए।

तर बिहीवारको बैठकमा उनी आक्रामक रूपमा प्रस्तुत नभई शान्त ढङ्गले प्रस्तुत भएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।