'बडिबिल्डिङ'ले निम्त्याउन सक्छ युवावस्थामै ज्यान गुम्ने जोखिम

तस्बिर स्रोत, Getty Images
- Author, स्टेफनी रोड्रिगेस
- Role, बीबीसी न्यूज ब्रजिल
- Published
- पढ्ने समय: ६ मिनेट
यो महिनाको सुरुमा मायल्सँ अराउजूले आफू जिममा रहेको एउटा तस्बिर सामाजिक सञ्जालमा राखेका थिए। उनी त्यस्ता तस्बिर प्रायः राखिरहन्थे।
त्यो तस्बिरमा उनले आफ्नो सुगठित शरीर प्रदर्शन गरेका थिए र त्यसले उनलाई एक व्यावसायिक 'बडिबिल्डर' र हजारौँ फलोअरहरू भएका 'फिटनेस इन्फ्लुअन्सर'का रूपमा चिनाएको थियो।
रातो गन्जी लगाएका अराउजूका पाखुराहरू मांसपेशीले भरिएको कुनै 'सूपरहिरो'का जस्ता देखिन्थे।
तर केही घण्टापछि उत्तरपूर्वी ब्रजिलको बाया राज्यस्थित आफ्नै घरमा अचानक अस्वस्थ भएपछि ३५ वर्षीय अराउजूको मृत्यु भयो।
अराउजूको मृत्युको कारण अझै आधिकारिक रूपमा पुष्टि भएको छैन। तर उनी हालैका वर्षहरूमा अचानक ज्यान गुमाउने धेरै बडिबिल्डरहरूमध्येका एक हुन्।
गत मे महिनाको अन्त्यतिर ब्रजिलका चर्चित युवा बडिबिल्डर गेब्रियाल गान्लेको २२ वर्षको उमेरमा अचानक हृदयाघात अर्थात् 'सडन कार्डियाक डेथ'का कारण मृत्यु भयो। त्यसअघि, गत वर्ष पनि ब्रजिलका ३० र ४० वर्ष उमेरका दुई जना बडिबिल्डरले मुटुसम्बन्धी समस्याका कारण ज्यान गुमाएका थिए। तीमध्ये एक जनाको प्रतिस्पर्धाकै क्रममा मृत्यु भएको थियो।
यस्तै प्रकारका घटनाहरू विश्वका अन्य देशहरूमा पनि देखिएका छन्। अमेरिकी बडिबिल्डर ड्यालस म्याक्कार्भरको सन् २०१७ मा २६ वर्षको उमेरमा मृत्यु भएको थियो भने जर्मन फिटनेस इन्फ्लुअन्सर तथा बडिबिल्डर जो लिन्डनरको सन् २०२३ मा ३० वर्षको उमेरमा निधन भएको थियो।
त्यसो भए बाहिरबाट हेर्दा बलिया, स्वस्थ र तन्दरुस्त देखिने केही बडिबिल्डरहरूको किन तुलनात्मक रूपमा कम उमेरमै अचानक मृत्यु भइरहेको छ?
जोखिम

तस्बिर स्रोत, Maddie Meyer/Getty Images
सन् २०२५ मा प्रकाशित एक अध्ययनले प्रतिस्पर्धात्मक बडिबिल्डिङका जोखिमहरू स्पष्ट रूपमा देखाएको छ। उक्त अध्ययनमा अनुसन्धानकर्ताहरूले सन् २००५ देखि सन् २०२० सम्म खेलको अन्तर्राष्ट्रिय नियामक निकायद्वारा आयोजित प्रतियोगितामा सहभागी भएका करिब २० हजार जना सौखिन र व्यावसायिक बडिबिल्डरहरूबारे अध्ययन गरेका थिए।
'युरोपिअन हार्ट जर्नल'मा प्रकाशित उक्त अध्ययनले व्यावसायिक बडिबिल्डरहरूमा हृदयाघातका कारण अचानक हुने मृत्युको जोखिम सोखका लागि खेल्ने खेलाडीहरूको तुलनामा पाँच गुणाभन्दा बढी रहेको पत्ता लगायो। हृदयाघातका कारण अचानक मृत्यु हुनु भनेको मुटुको चाल एक्कासि बन्द हुनु हो।
सामान्यतया युवा र स्वस्थ व्यक्तिहरूमा यस्तो घटना दुर्लभ हुन्छ र यो प्रायः पहिलेदेखि रहेको हृदय तथा रक्तनलीसम्बन्धी रोगसँग सम्बन्धित हुन्छ।
अध्ययनमा १२१ जनाको मृत्यु पहिचान गरिएको थियो। तीमध्ये ४६ जनाको मृत्यु अचानक हृदयाघातका कारण भएको थियो।
मृत्यु हुनेहरूको औसत उमेर ४५ वर्ष थियो तर प्रतियोगितामा सक्रिय रूपमा सहभागी भइरहेका खेलाडीहरूको औसत मृत्यु उमेर केवल ३४.७ वर्ष थियो।
अध्ययन प्रतिवेदनका प्रमुख लेखक तथा इटलीको पडुभा विश्वविद्यालयका डा. मार्को भिक्यातोका अनुसार, बडिबिल्डरहरूको मृत्युमा विभिन्न कारणहरूले भूमिका खेलेका हुन सक्छन्। तीमध्ये क्षमता बढाउने औषधिको व्यापक प्रयोग, प्रतियोगिताका लागि छिटो तौल घटाउने अभ्यास र धेरै भार उठाउने अभ्यास अत्यधिक गर्नु प्रमुख हुन्।
सन् २०२५ मा 'सर्कुलेशन' नामक जर्नलमा प्रकाशित डेन्मार्कका अनुसन्धानकर्ताहरूले 'एनाबोलिक स्टेरोइड' प्रयोग गर्ने १,१८९ जना पुरुषलाई करिब ११ वर्षसम्म अध्ययन गरी करिब ६० हजार अन्य पुरुषसँग त्यसको तुलना गरे।
अध्ययनले स्टेरोइड प्रयोग गर्ने व्यक्तिहरूमा 'कार्डिओमायोप्याथी' अर्थात् मुटुको मांसपेशी कमजोर बनाउने रोग हुने सम्भावना झन्डै नौ गुणा बढी रहेको देखायो। उनीहरूमा हृदयाघातको जोखिम तीन गुणा बढी थियो भने मुटुले काम नगर्ने जोखिम तीन गुणाभन्दा पनि बढी थियो।
पुरुषहरूमा शुक्राणुको सङ्ख्या घट्ने, यौन दुर्बलताजस्ता अन्य स्वास्थ्य समस्यासमेत निम्त्याउने एनाबोलिक स्टेरोइडले रक्तचाप बढाउने, धमनीमा बोसो जम्ने प्रक्रियालाई तीव्र बनाउने र मुटुको संरचनामा नै परिवर्तन ल्याउने काम पनि गर्न सक्छ।
मुटुको आकार
'युरोपिअन हार्ट' जर्नलको अध्ययनमा अनुसन्धानकर्ताहरूले मृत्यु भएका बडिबिल्डरहरूको पोस्टमर्टम प्रतिवेदनको पनि अध्ययन गरेका थिए।
धेरैजसो अवस्थामा मुटु असामान्य रूपमा ठूलो भएको भेटिएको थियो। यस्तो अवस्थाले अनियमित मुटुको धड्कन र मुटुले काम नगर्ने जोखिम बढाउँछ।
कम उमेरमै मृत्यु भएका धेरै बडिबिल्डरहरूको पोस्टमर्टममा मुटु अस्वाभाविक रूपमा ठूलो भएको पाइएको छ।
सबैभन्दा चर्चित घटनामध्ये एउटामा अमेरिकी बडिबिल्डर ड्यालस मक्कार्भरको सन् २०१७ मा २६ वर्षको उमेरमा मृत्यु भएको थियो। पोस्टमर्टममा उनको मुटुको तौल ८३३ ग्राम रहेको पाइएको थियो, जुन एक वयस्क पुरुषको सामान्य मुटुको तौलभन्दा दुई गुणाभन्दा बढी थियो।

तस्बिर स्रोत, Bispo & Zago, 2024, Arquivos Brasileiros de Cardiologia (CC BY)
सन् २०२२ मा गरिएको एउटा अध्ययनले अमेरिकी बडिबिल्डरहरूको पोस्टमर्टम प्रतिवेदनहरू अध्ययन गर्दा उनीहरूको मुटुको तौल औसतमा सामान्यभन्दा करिब ७४ प्रतिशत बढी रहेको र मुटुको बायाँ भेन्ट्रिकल अपेक्षितभन्दा १२५ प्रतिशतसम्म बाक्लो भएको पत्ता लगाएको थियो।
अर्को छुट्टै अध्ययनमा अनुसन्धानकर्ताहरूले इटली र स्पेनका एनाबोलिक स्टेरोइड प्रयोगसँग सम्बन्धित बडिबिल्डरहरूको फरेन्सिक रिपोर्टको अध्ययन गरेका थिए।
धेरै घटनामा २० देखि ३० वर्षको उमेर समूहका युवा खेलाडीहरूमा मुटु असामान्य रूपमा ठूलो भएको, मुटुको मांसपेशी अत्यधिक बाक्लो भएको र एड्भान्स्ड कोरोनरी आर्टरी डिजिज देखिएको थियो।
एक २४ वर्षीय बडिबिल्डरको त्यस्तो आर्टरीमा ७५ प्रतिशतभन्दा बढी समस्या देखिएको थियो जबकि उनको परिवारमा विगतमा कसैलाई मुटुरोग लागेको थाहा थिएन।
एन्डोक्रिनोलजिस्ट तथा खेलकुद चिकित्सक डा. क्लेटन मसेडो भन्छन्, "मुटु पनि शरीरका अन्य मांसपेशीजस्तै एउटा मांसपेशी हो।"
"म सधैँ भन्छु, बिरामीको पाखुराको मांसपेशी हेरेरै उसको मुटुको आकार कस्तो हुन सक्छ भन्ने अनुमान गर्न सक्छु, किनकि शरीरका अन्य मांसपेशीसँगै मुटु पनि ठूलो हुँदै जान्छ।"
स्टेरोइड प्रयोग नगरी गरिएको तौल उठाउने अभ्यासले पनि मुटुको आकार केही बढाउन सक्छ।
तर ब्रजिलिअन सोसाइटी अफ कार्डिओलजीका अध्यक्ष डा. लुइज एडुआर्डो फोन्तेलिस रिट्ले एनाबोलिक स्टेरोइडको प्रयोग गर्दै त्यस्तो व्यायाम गरियो भने मुटु केवल ठूलो मात्र नभई यसले रगत प्रभावकारी रूपमा पम्प गर्ने क्षमता पनि गुमाउन थाल्न सक्ने बताए।
उनका अनुसार, "यो अवस्था क्रमशः मुटुले काम नगर्नेमा परिणत हुन सक्छ र अन्ततः यस्तो चरणमा पुग्न सक्छ, जहाँ उपचार गरेर पनि पहिलेको अवस्थामा फर्काउन सम्भव हुँदैन।"
यद्यपि, केही अवस्थामा मुटुको मांसपेशी बाक्लिने समस्या वंशाणुगत कारणले पनि हुन सक्छ।
डा. रिट भन्छन्, "यो विषय स्पष्ट छैन।"
'एनबोलिक स्टेरोइड' प्रयोग गर्ने सुरक्षित तरिका छैन

तस्बिर स्रोत, Rodrigo Góes
पूर्वबडिबिल्डर रोड्रिगो गोएसले बीबीसी न्यूज ब्रजिलसँग कुरा गर्दै आफूले ३० वर्षको उमेरसम्म कुनै स्टेरोइड प्रयोग नगरी प्रतिस्पर्धा गरेको र त्यसपछि चिकित्सकीय निगरानीमा स्टेरोइड प्रयोगको 'चक्र' ("साइकल") सुरु गर्ने निर्णय गरेको बताएका छन्।
"साइक्लिङ" भन्नाले सामान्यतया केही हप्तासम्म एनाबोलिक स्टेरोइड प्रयोग गर्ने र त्यसपछि शरीरलाई पुनः सामान्य अवस्थामा फर्किन समय दिन स्टेरोइडको प्रयोग रोक्ने प्रक्रियालाई जनाउँछ।
गोएस भन्छन्, "यसले शरीरमा पार्ने प्रभाव अविश्वसनीय हुन्छ।"
"प्राकृतिक रूपमा भन्दा धेरै छिटो मांसपेशी बढ्छ। शरीरमा बोसो कम हुँदै जान्छ र मांसपेशीहरू पनि धेरै छिटो स्वस्थ हुन्छन्। त्यसैले यो लोभलाग्दो छ।"

तस्बिर स्रोत, Rodrigo Góes
यद्यपि उनले चिकित्सकीय सल्लाहअनुसार सावधानीपूर्वक स्टेरोइड प्रयोग गर्ने विषयको व्याख्या गरे पनि त्यसले कपाल झर्ने, तनाव हुने, निद्रा नलाग्ने वा राति धेरै पसिना आउनेजस्ता अवाञ्छित असरहरू पनि देखेका छन्।उनका अनुसार अझै नराम्रो भनेको मनोवैज्ञानिक असर हो।
उनी अहिले भने स्टेरोइडको दुरुपयोगविरुद्ध अभियान चलाउँछन्।
"एनबोलिक स्टेरोइडको प्रयोग गर्ने सही तरिका छैन। चिकित्सकहरूले गर्न सक्ने भनेको क्षति व्यवस्थित गर्ने हो तर क्षति त हुने नै छ।"
'म कसैको पाखुरा हेरेर नै भन्न सक्छु'
ब्रजिलमा एनाबोलिक स्टेरोइडको प्रयोगसँग सम्बन्धित मृत्युबारे कुनै आधिकारिक तथ्याङ्क उपलब्ध छैन। अन्य धेरै देशहरूमा पनि स्टेरोइडको प्रयोगलाई मृत्युमा योगदान दिने कारणका रूपमा उल्लेख गरिँदैन।
बरु मृत्यु सामान्यतया हृदयाघात, स्ट्रोक वा कार्डियोमायोपथीजस्ता प्रत्यक्ष कारणका आधारमा वर्गीकृत गरिन्छ। क्षमता बढाउने औषधिहरूले खेलेको सम्भावित भूमिकालाई भने प्रायः समावेश गरिँदैन।
फरेन्सिक चिकित्सकहरूका अनुसार एनाबोलिक स्टेरोइडहरू शरीरले प्राकृतिक रूपमा उत्पादन गर्ने होर्मोनसँग धेरै मिल्दोजुल्दो हुने भएकाले मृत्युपछि तिनको प्रयोग पत्ता लगाउन निकै कठिन हुन्छ।
यी सबै कारणले गर्दा क्षमता बढाउने औषधिहरूसँग सम्बन्धित मृत्यु वास्तवमा कति छन् भन्ने कुरा ठ्याक्कै निर्धारण गर्न कठिन हुन्छ।
मसेडो भन्छन्, "म हरेक दिन यस्तै बिरामीहरूसँग काम गर्छु।"
"म कसैको पाखुराको मांसपेशी हेरेरै धेरै कुरा अनुमान गर्न सक्छु। तर दुर्भाग्य, जब म यस्ता अस्वाभाविक रूपमा ठूला बाइसेप्स देख्छु, त्यतिबेला प्रायः त्यो मानिसको मुटु पहिले नै प्रभावित भइसकेको हुन्छ वा प्रभावित हुन थालेको हुन्छ भन्ने बुझ्छु। धेरैजसो अवस्थामा यसको वास्तविक मूल्य पछि चुकाउनुपर्छ।"
थप रिपोर्टिङ लुइस बरुचो
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















