थाईल्यान्डको दक्षिणी भागमा योजनाबद्ध रूपमा दर्जनौँ आगजनीका घटना

थाईल्याण्ड

तस्बिर स्रोत, AFP via Getty Images

    • Author, अनबरसन इथिराजन
    • Role, विश्व मामिला संवाददाता
  • Published
  • पढ्ने समय: २ मिनेट

थाईल्याण्डको विद्रोही प्रभाव रहेको दक्षिणी क्षेत्रमा "अशान्ति फैलाउने उद्देश्यले" ५० भन्दा बढी योजनाबद्ध आगजनी तथा विस्फोटक आक्रमणहरू भएको थाई सेनाले जनाएको छ।

यी घटनाहरूमा दुई जना घाइते भएका छन् भने स्थानीय सरकारी कार्यालयको भवन, स्टोरहरू र चोरी गरिएका सवारी साधनमा आगजनी गरिएको छ।

सेनाको 'आन्तरिक सुरक्षा सञ्चालन कमान्ड'ले जारी गरेको विज्ञप्ति अनुसार शनिवार राति ८ बजेदेखि मध्यरातबीचमा देशका दक्षिणी सीमावर्ती प्रान्तहरूमा यी घटनाहरू भएका हुन्।

अधिकांश घटनाहरू नराथिवात् प्रान्तमा भएका थिए भने छिमेकी प्रान्तहरू याला र पत्तानीमा पनि यस्ता घटनाहरू भए।

ब्याङ्कक पोस्टका अनुसार नराथिवात प्रान्तको मुआङ जिल्लामा बम विस्फोटन हुँदा दुई जना महिला घाइते भए।

विभिन्न स्थानहरूमा दूरसञ्चार टावरहरूमा आगजनी गरिएका छन् र सुरक्षाकर्मीहरूले स्थानीय बासिन्दाहरूलाई शङ्कास्पद वस्तुहरू नछुन चेतावनी दिएका छन्।

अधिकारीहरूले नराथिवात् प्रान्तमा रातभर कर्फ्यू लगाएका थिए जुन आइतवार बिहान हटाइयो। आइतवार थप कुनै हमला भएको खबर आएको छैन।

जिम्मेवार को?

थाईल्याण्ड

तस्बिर स्रोत, AFP via Getty Images

हालसम्म आगजनीका ती घटनाको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन।

सन् २००४ यता बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको थाईल्याण्डका दक्षिणी प्रान्तहरूमा न्यून स्तरको द्वन्द्व चलिरहेको छ। त्यहाँ मुस्लिम बहुल क्षेत्रका विद्रोहीहरूले थप स्वायत्तताका लागि सङ्घर्ष गरिरहेका छन्।

त्यस सम्बन्धी हिंसामा हालसम्म ७,००० जना भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ।

यो विद्रोही आन्दोलनको नेतृत्व मुख्यतया बारिसन रेभलूसी नासियोनालले गरिरहेको छ।

सन् २०१३ मा मलेसियाको मध्यस्थतामा वार्ता सुरु भएयता राजधानी ब्याङ्ककमा बारम्बार सरकार फेरिने र आन्तरिक मतभेद हुने दुवै पक्षका कारण शान्ति प्रक्रिया बारम्बार अवरुद्ध हुँदै आएको छ।

गत जुलाईमा नाराथिवात् स्थित एक जाँच चौकीमा भएको गोली तथा बम आक्रमणमा पाँच सैनिकको मृत्यु भएपछि अधिकारीहरूले तय गरिएको वार्ता प्रक्रिया स्थगित गरेका थिए।

थाई सञ्चारमाध्यमका अनुसार विद्रोहीहरूले प्रायः सुरक्षा अधिकारी र सरकारी भवनहरूलाई निसानामा पार्ने गर्छन्। कहिलेकाहीँ यस्ता आक्रमणहरू अधिकारीहरूले उक्त क्षेत्रमा गर्ने भनिएका भ्रमणअघि हुने गरेका छन्।

थाई प्रधानमन्त्री अनूतिन चान्वीरकून र मन्त्रिपरिषद्का सदस्यहरू लगानी परियोजना, बाढी नियन्त्रण र सुरक्षासम्बन्धी विषयमा छलफल गर्न अर्को साता दक्षिणी सोङख्ला प्रान्तको हाट याई सहरको दुई दिने भ्रमणमा जाने कार्यक्रम छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।