ट्रम्प र सीबीच हुन लागेको वार्ताका मुख्य मुद्दामा केके छ

तस्बिर स्रोत, Getty Images
चीनको दुई दिने भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच बेइजिङमा वार्ता हुँदै छ।
ट्रम्पको सम्मानमा चीनले एउटा रात्रिभोजको आयोजना गर्नुअघि दुई नेताबीच वार्ता हुने छ।
ट्यारिफ, प्रविधि क्षेत्रमा प्रतिस्पर्धा, इरान युद्ध र ताइवान मामिलालगायत विषय दुई शक्ति राष्ट्रबीच हुन लागेको वार्ताका सूचीमा रहेका बताइएको छ।
ट्रम्पको चीन भ्रमण मार्च महिनाका लागि तय भएको भए पनि इरान युद्धका कारण ढिलो हुन गएको हो। अमेरिकी राष्ट्रपतिले चीन भ्रमण गरेको झन्डै एक दशकपछि हो।
आफ्नो भ्रमणका क्रममा ट्रम्पले चीनलाई इरान युद्ध अन्त्य गराउन तेहरानमाथि दबाव दिन सक्ने ठानिएको छ। चीनले इरानमा उत्पादित सस्तो तेल किन्दै आएको छ।
के चाहन्छन् दुई देश?
बेइजिङले पनि उक्त द्वन्द्व टुङ्गियोस् भन्ने चाहेको छ। तेलको आपूर्ति सीमित हुँदा चिनियाँ सामान आयात गर्ने देशहरूको क्रयशक्ति घटेको बताइन्छ।
तर चीनमा भएका तेलखानी र अन्य स्रोतहरूबाट ऊर्जा आपूर्ति भएकाले चीनले युद्धका कारण परेको दुष्प्रभाव अरू देशको तुलनामा राम्ररी भरथेग गर्न सकेको ठानिन्छ।
बीबीसीकी एशिया व्यापार संवाददाता सुरञ्जना तिवारीका अनुसार गत अक्टोबरमा दुई देशबीचको व्यापार सम्झौताको विषय चीनका लागि प्रमुख मुद्दा हुने छ।
त्यसमा भएको ढिलाइले ट्यारिफसम्बन्धी थप तनाव निम्त्यायो। नोभेम्बरमा त्यसको म्याद सकिँदै छ।
बेइजिङले अमेरिकाबाट आयात बढाउने सङ्केत गर्न सक्ने पनि अपेक्षा गरिएको छ। त्यसमा बोइङ हवाईजहाज, बीफ, सोया (बीन) खरिदका साथै भविष्यमा व्यापार बढाउनका निम्ति लगानी बोर्ड तथा व्यापार बोर्ड गठनको विषय पर्ने ठानिएको छ।
बेइजिङले ट्यारिफ, प्रविधि र ताइवानमा केन्द्रित हुने गरी वार्ताको तयारी गरिरहेको छ। ताइवानलाई उसले आफ्नो भूभाग बताउँदै आएको छ।
प्रविधि र आपूर्ति प्रणाली पेचिलो मुद्दा रहिआएका छन्। अमेरिकाले चिप्स तथा चिप्स निर्माण उपकरणमाथि लगाइएका अवरोधहरू खुकुलो पारोस् भनी चीन चाहन्छ।
अर्कोतर्फ वाशिङ्टन सवारीसाधन तथा एरोस्पेसका लागि महत्त्वपूर्ण दुर्लभ धातुहरूको अझ स्थिर प्रवाह होओस् भनी चाहन्छ।

तस्बिर स्रोत, CGTN
उद्योगका शीर्ष व्यक्तित्व
बेइजिङ भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पसँगै व्यापार र प्रविधि उद्योगका शीर्ष व्यक्तित्वहरू पनि सहभागी छन्।
प्रतिनिधिमण्डलमा एपलका टिम कुक, टेस्ला तथा स्पेसएक्सका इलोन मस्क, ब्ल्याकरकका ल्यारी फिङ्क अनि मेटा, भिजा, जेपी मोर्गन, बोइङ, कार्गिलसहित विभिन्न कम्पनीका कार्यकारी प्रमुखहरू पनि छन्।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार विभिन्न अमेरिकी कम्पनीका कुल १७ कार्यकारी प्रमुखहरू ट्रम्पको टोलीमा सहभागी भएका छन्।
वार्ताले इरान युद्ध र जलसुरक्षा अनि होर्मुज जलमार्गसहितका विषयलाई पनि छुने ठानिएको छ। होर्मुज जलमार्ग एशियामा तरलीकृत प्राकृतिक ग्यास तथा तेल ढुवानीको प्रमुख मार्ग हो।
विज्ञहरूका अनुसार दुवै पक्षका तर्फबाट बोली अथवा शब्दमा हुने ससानो परिवर्तनले पनि व्यापार तथा क्षेत्रीय सुरक्षामा व्यापक असर पार्न सक्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















