हगिबिस आँधी: जापानमा दशकौँ यताको भीषण आँधी

हेलिकोप्टरबाट उद्धार

तस्बिर स्रोत, Reuters

Published

जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी आउँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने कैयौँ अरू हराइरहेका छन्।

शनिवार आएको दशकौं यताको शक्तिशाली आँधीका कारण राजधानी टोक्यो अस्तव्यस्त भएको छ। करिब पाँच लाख मानिस प्रभावित हुने गरी बिजुली काटिएको छ।

हगिबिस अहिले उत्तरतिर बढिरहेको छ र समुद्रतिरै फर्कने ठानिएको छ।

हगिबिस आँधीले स्थानीय समय अनुसार साँझ ७ बजे जापानी तटलाई हानेको थियो।

त्यसपछि उक्त आँधी जापानको मुख्य भूभागतर्फ २२५ किमि प्रति घण्टाको दरमा अगाडि बढेको छ।

जापानी समाचार संस्था एनएचकेका अनुसार २ लाख ७० हजार घरहरूमा बिजुली गएको छ।

कति खतरनाक छ आँधी?

हगिबिस आँधी

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, आँधी नजिकिँदै गर्दा समुद्री छालहरू विशाल बन्दै गएका थिए

सत्तरी लाख भन्दा बढी मानिसलाई भयानक बाढी र पहिरोको चेतावनीका बीच घर छोड्न भनिएको छ। तर ५० हजार मात्र सुरक्षित शिविरमा बसेका छन्।

जापानी मौसम पूर्वानुमान निकाय जेएमएकी यसुशी काजिवाराले सञ्चार माध्यमलाई दिएको जानकारीमा "शहरहरू, नगरहरू र गाउँहरूमा अभूतपूर्व रूपको भीषण वर्षा देखिएको छ।"

जेएमएले शनिवार दिउँसोदेखि आइतवारसम्ममा टोक्यो क्षेत्रमा आधा मीटर पानी पर्ने चेतावनी दिएको छ।

हगिबिस आँधी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, पूर्वी टोक्योमा हगिबिस आँधीले हानेपछि

कैयौँ बुलेट ट्रेन सेवा रोकिएका छन्। टोक्योको मेट्रो सर्भिस पनि शनिवार दिनभरजसो रोकिएको थियो।

टोक्योको हानेडा विमानस्थल र चीबास्थित नारिटा विमानस्थलका गरि करिब एक हजार सबै उडानहरू रद्द गरिएका छन्।

पश्चिम टोक्योस्थित हाचीओजी शिविरमा रहेका एक स्थानीयबासी जेम्स ब्याबले बीबीसीलाई उनको नदी किनारमा रहेको घर बग्ने खतरामा रहेको बताए।

हगिबिस आँधी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, भीषण वर्षाले ठूलो क्षेत्र डुबानमा परेको छ

"म र मेरी एकजना अशक्त नातेदार यो शिविरमा बसिरहेका छौँ, हाम्रो घर बाढीमा पर्न सक्छ। उनीहरूले हामीलाई ब्ल्याङ्केट र बिस्कुट दिएका छन्।"

गत महिना मात्रै टाइफुन फक्साइले जापानका केही भागमा विध्वंस मच्चाउँदा ३० हजार घरहरूमा क्षति पुगेको थियो ती मध्ये धेरै घरहरू अझ पनि मर्मत सम्भार गरिएको छैन।

तातेयामा चीबामा बनाइएको एउटा शिविरमा बसिरहेका ९३ वर्षीय व्यक्तिले एनएचकेलाई भने, "अघिल्लो आँधीले मेरो छानोमा क्षति पुर्‍याएको थियो त्यसैले पानी चुहिन लागेपछि मेरो उद्धार गरियो। मेरो घरबारे म असाध्यै चिन्तित छु।"