हिमाली भेगमा चिसो बढेपछि मानिस शहर झर्दै, याक र चौँरी भने 'बचाउनै कठिन'

हिमालय क्षेत्रमा याक चौँरी
    • Author, सुरेन्द्र फुयाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

हिमपातपछि चिसो बढेसँगै कैयौँ हिमाली बस्तीहरूमा जनजीवन कष्टकर बनेपछि त्यहाँका बासिन्दा शहरमा अस्थायी बसाइँ सर्न थालेका छन्।

चिसोमा डोल्पा, मुस्ताङ, मनाङ, उत्तरी गोरखा र रसुवाका किसानलाई याक, नाक, चौँरी, भेडा र च्याङ्ग्रा बचाउन कठिन हुन थालेको अधिकारीहरूले बताएका छन्।

गएका वर्षहरूमा ती जिल्लामा चिसोका कारण ठूलो सङ्ख्यामा चौपायाहरू मरेको विवरणहरू आएको थियो।

यसपटक पनि गोठालाहरूको भरमा रहेको चौपाया बचाउन गार्‍हो हुने उत्तरी मुस्ताङ र मनाङका जनप्रतिनिधिहरूले बीबीसी न्यूज नेपालीलाई बताएका छन्।

हिमपात र चिसोका कारण ताप्लेजुङदेखि दार्चुलासम्म हिमाली जिल्लामा सामान्य जनजीवन प्रभावित भएका विवरण आइरहेका छन्।

बस्ती लगभग खाली

बाक्लो हिमपातपछि डोल्पाको मुड्केचुला गाउँपालिकाको एक विद्यालय हिउँले पुरिएको समाचार प्राप्त भएको छ।

अन्य हिमाली बस्तीमा पनि जनजीवन कष्टकर बनिरहेका विवरण आउने क्रम जारी छ।

डोल्पामा हिउँले छोपिएको आधारभूत विद्यालय
तस्बिरको क्याप्शन, डोल्पामा हिमपात पछि एक आधारभूत विद्यालय हिउँले छोपिएको छ

उपल्लो मुस्ताङमा हिमपात भएपछि त्यस क्षेत्रका सबै बस्ती लगभग खाली भएको स्थानीय बासिन्दाले बताए।

सङ्घीय सांसद प्रेमप्रसाद तुलाचनले लोमान्थाङ र लोघेगर दामोदरकुण्ड गाउँपालिकाका विद्यालयका बालबालिकासमेत पोखरा झरिसकेकोले त्यहीँ उनीहरूका लागि घुम्ती विद्यालय सञ्चालन हुन लागेको बताए।

तुलाचनले भने: "अहिले माथिल्लो मुस्ताङमा ज्येष्ठ नागरिक र केही युवायुवतीमात्रै छन्। चिसो छल्न सबै तल झरिसकेका छन्।"

उनका अनुसार मुस्ताङको थसाङमा हिमपातपछि 'केही याक र चौँरी हराइरहेका छन्'।

मनाङको नार्पाभूमि गाउँपालिकाका नार र फु गाउँका अधिकांश बासिन्दा पोखरा र काठमाण्डू झरिसकेका छन्। त्यहाँको जनसङ्ख्या करिब १,५०० छ।

हिमपातपछि उपल्लो मुस्ताङको लोमान्थाङ।
तस्बिरको क्याप्शन, हिमपातपछि उपल्लो मुस्ताङको लोमान्थाङको तापक्रम शून्यभन्दा तल झरिसकेको स्थानिय बासिन्दाको भनाइ छ

जोखिममा याक र चौँरी

एक कार्यक्रममा लागि पोखरा झर्ने क्रममा रहेका नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ लामाले भने, "गाउँमा प्रत्येक घरमा एक जनाजस्तो रहेका छन्। बाँकी विदेश वा काठमाण्डू कि पोखरामा छन्।"

उनका अनुसार 'चौँरी, याक र भेडाच्याङ्ग्रा लेकमा नै छन्'।

उनी भन्छन्: "ती गोठालाका भरमा छन्। तर हिउँ र चिसोका कारण खतरा बढेको छ।"

उनका अनुसार उत्तरी मनाङमा गएको वसन्त ऋतुमा हिमपातका कारण सयौँको सङ्ख्यामा चौपाया मरेका थिए।

त्यतिबेला मुस्ताङ, उत्तरी गोरखा र लाङटाङ लगायतका हिमाली भेगमा पनि धेरै चौपाया मरेका थिए।

उत्तरी गोरखा र लाङटाङको अवस्था

हिमपातपछि लाङटाङ। (फाइल फोटो: सुरेन्द्र फुयाल)
तस्बिरको क्याप्शन, सन् २०१८ मा हिमपातपछि लाङटाङको क्यान्जिङ गुम्बा क्षेत्रबाट देखिएको हिमाली दृश्य

उत्तरी गोरखाको चुननुब्री गाउँपालिका-१ का अध्यक्ष वीरबहादुर लामाका अनुसार चिसो बढेपछि धेरै मानिस काठमाण्डू झरिसकेका छन्।

त्यो गाउँपालिकाको जनसङ्ख्या करिब १,८०० रहेको छ।

उनले भने, "लेकमा चर्न छोडिएका याक, चौँरी र अन्य चौपायालाई बेँसी झारेर गोठमा थुनिएका छन्।"

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको लाङटाङको माथिल्लो भेग पनि सुनसान भएको लाङटाङ थाङस्यापका शिक्षक फिन्जो लामाले बताए।

उनले भने, "पदमार्ग सुनसान छ। पर्यटक शून्य भन्दा पनि हुन्छ।"

"पोहर पनि थुप्रै याक चौँरी मरेका थिए। यसपाली पनि बचाउन कठिन होला जस्तो छ।"

'मनाङ पनि सुनसान'

मनाङका पर्यटन व्यवसायी कर्मा गुरुङका अनुसार हिमपात हुन थालेपछि अन्नपूर्ण क्षेत्रको भ्रमणमा जाने पर्यकटकहरूको सङ्ख्यामा कमी आएको छ।

उनका अनुसार मनाङ हुँदै थोराङ्लापासतर्फ जाने पदयात्रीको सङ्ख्या पनि घटेको छ।

चिसो बढेपछि चामे, पिसाङ, नार्पाभूमिका नार र फुका साथै मनाङ र तिलिचो क्षेत्रका होटल पनि सुनसान हुन थालेका छन्।

हिउँ परेपछि चामेदेखि दक्षिणतर्फ मनाङ जाने सडकमा पनि अवरोध उत्पन्न भएको र सो खोल्ने प्रयास भइरहेको मनाङमा प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए।

'हिमपात पछि रमाइलो'

मुस्ताङमा हिउँ खेल्दै सांसद शान्ता चौधरी
तस्बिरको क्याप्शन, हिमपातपछि कोरला नाका जान नसकेको टोलीमा रहेकी सांसद शान्ता चौधरी मुस्ताङमा हिउँमा खेलेका थिइन्

सांसद तुलाचनका अनुसार हिमपातका कारण सडक अवरुद्ध भएपछि चीनको सीमामा पर्ने कोरला नाका जान लागेको एक विदेशी विज्ञ र नेपाली सांसदहरूको टोली बीच बाटोबाटै फर्कन बाध्य भयो।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमका अनुसार हिमपातका बेला केही दिन सडक आवागमन प्रभावित हुनु सामान्य हो।

उनको भनाइमा चिसोका कारण हुने वार्षिक बसाइँसराइका अतिरिक्त जिल्लामा 'हिमपातका कारण खासै धेरै असर परेको छैन।'

हिमपात भएपनि मुस्ताङको जोमसोम, कागबेनी र मुक्तिनाथ जस्ता स्थानमा तीर्थालु तथा पर्यटकहरू आउने क्रम जारी रहेको गौतमले बताए।

गौतमले भने, "हिउँ पर्न थालेपछि मानिसहरू हिउँमा खेल्दै रमाइरहेका छन्।"

"किसानहरू बाली सप्रिन्छ भनेर खुसी भएका छन्। हिमपातपछि त यहाँ एक प्रकारको रमाइलो भएको छ।"