नेकपा विवाद: पुष्पलाल सम्झिँदा नेता माधव नेपालको 'निसानामा केपी शर्मा ओली'

माधव नेपाल

तस्बिर स्रोत, RSS

Published

नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट पार्टी सामूहिक नेतृत्वमा विश्वास गर्ने संस्था भएको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसको अवसरमा जारी वक्तव्यमा उनले 'कुनै व्यक्तिको अलौकिक वा चमत्कारी नेतृत्वमा विश्वास' नगर्ने उल्लेख गरेका छन्।

पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट केपी शर्मा ओलीलाई हटाउने प्रयास गरेपछि नेकपाभित्र उत्पन्न विवाद साम्य नभएका बेला नेता नेपालले कम्युनिस्ट पार्टी विभाजनको विगत पनि सम्झिएका छन्।

उनले 'अर्काको अस्तित्व स्वीकार नगर्ने र म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन भन्ने भावनाले कम्युनिस्ट आन्दोलनलाई हिजो विभाजनबाट थिलोथिलो बनाएको' स्मरण गरेका छन्।

पार्टी जोगाउने कर्तव्य

उनले सीधै नभने पनि अहिले पनि त्यस्तो स्थिति रहेकोतर्फ सङ्केत गरेका छन्। उनले नेता र कार्यकर्ताहरूलाई त्यसबाट पार्टीलाई जोगाउने जिम्मेवारी बोध गराउन खोजेका छन्।

नेपालले भने, "आज पनि कहीँ कतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृतिहरू देखा पर्छन् भने त्यसकाविरुद्ध दृढतापूर्व उभिनु सबै इमान्दार नेता-कार्यकर्ताको कर्तव्य हुन्छ।"

नेता नेपालले पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्षको हैसियतले ४२ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा वक्तव्य जारी गरेका हुन्।

वक्तव्यको अधिकांश अंशमा नेता पुष्पलालको योगदानको चर्चा गरिएको छ। तर पुछारमा नेता नेपालले पार्टीभित्रको एउटा खेमाले प्रधानमन्त्री ओलीलाई लक्षित गरेर प्रयोग गर्दै आएका शब्दहरू उल्लेख गरेका छन्।

पुष्पलाल

तस्बिर स्रोत, RSS

'अर्काको अस्तित्व स्वीकार नगर्ने', 'म नै सर्वेसर्वा हुँ', 'म नभए केही पनि चल्दैन', 'व्यक्तिको अलौकिक वा चमत्कारी नेतृत्व' जस्ता पदावलीहरू प्रधानमन्त्री ओलीमाथि पार्टीभित्रैबाट समेत आरोप लगाउँदा प्रयोग हुने गरेका छन्।

त्यस्तै आरोपहरूकाबीच ओलीविरुद्ध नेता नेपालका साथै अध्यक्ष प्रचण्ड र अर्का वरिष्ठ नेता झलनाथ खनाल लगायतको गठबन्धन बनेको छ।

'प्रकट प्रवृत्ति लक्षित'

त्यसोभए कतिपयले ठाने जस्तो के नेता नेपालको भनाइ ओलीलक्षित हो त?

नेता नेपाल प्रधानमन्त्री छँदा प्रेस सल्लाहकार रहिसकेका उनी निकट नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले भने, "त्यो उहाँको पार्टी र सिङ्गो आन्दोलनको ७० वर्षको संश्लेषण गर्दाको अनुभव हो। के-के भोग्यौँ भन्ने क्रममा उल्लेख गर्नुभएको हो।"

केपी शर्मा ओली, माधव नेपाल र प्रचण्ड

तस्बिर स्रोत, PM's Secretariat

उनले त्यसरी सामान्य अर्थमा बुझ्न आग्रह गरे पनि वक्तव्यमा 'आज पनि कहीँ कतै त्यस्ता…प्रवृति देखा पर्छन् भने…' उल्लेख गर्दै खबरदारी गर्न पनि नेता नेपालले आह्वान गरेका छन्।

त्यस सन्दर्भमा रिजाल भन्छन्, "पार्टीभित्रको विवाद सङ्घर्ष त देखिएकै छ, हामीले जति तोडे पनि त्यो कुनै न कुनै प्रवृत्तिमा प्रकट हुन्छन्। उहाँले त्यसलाई सङ्केत गर्नु भएको हो कि!"

ओलीलाई सुरुमा दुवै पदबाट हट्न आग्रह गरेको पार्टीभित्रको नेपालसहितको खेमाले पछि प्रधानमन्त्री मात्र भए पनि छाड्न दबाव दिएको थियो।

तर दुवै पद छाड्न प्रधानमन्त्री ओलीले अस्वीकार गरेपछि विभाजनको चर्चासम्म निम्त्याएको विवाद अहिले केही मत्थर जस्तो देखिन्छ।