तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
उनको शव ३० वर्षदेखि सगरमाथामा जमेको अवस्थामा छ; 'ग्रीन बुट्स'लाई घर फर्काउने आशा
- Author, जहांगीर अली
- Role, बीबीसी न्यूज हिन्दी, स्कुरबुचन, लद्दाख
- Published
- पढ्ने समय: ६ मिनेट
सगरमाथाको चुचुरो नजिकै एउटा चट्टानको ओत लागेर हिउँमा "ग्रीन बुट्स" भनेर चिनिने एक व्यक्तिको शव ३० वर्षदेखि अलपत्र छ।
सन् १९९६ मा ज्यान गुमाएका एक भारतीय पर्वतारोहीले लगाएका ती हरियो र पहेँलो (लाइम) रङका आरोहणमा लगाइने बुटहरू त्यसयता विश्वको सर्वोच्च शिखर चढ्ने धेरै पर्वतारोहीहरूका लागि चुचुरो पुग्ने बाटोको एउटा भयावह बिन्दु बनेका छन्।
अहिले भारतले निकै माथिल्लो उचाइमा काम गर्ने एक विशेषज्ञ टोलीको खोजी गरिरहेको छ। यस टोलीले दोर्जे मोरूपको भनिएको सो शवलाई तल ल्याउने जटिल र जोखिमपूर्ण अभियान आरोहण सञ्चालन गर्नेछ।
सर्वोच्च हिमालमा जमेको अवस्थामा छोडिएका सयौँ शवहरूमध्ये उनी सम्भवतः सबैभन्दा चर्चित नाम हुन्।
भारतीय अधिकारीहरूलाई मोरूपको पार्थिव शरीरलाई उनका साथीभाइ र परिवारजनसमक्ष फर्काउने सकिने आशामा छन्।
ती प्रियजनहरूले उनी घर फर्कने आशा कहिल्यै त्यागेका थिएनन्।
"कहिलेकाहीँ सुत्नुअघि म सोच्थेँ कि आज राति ढोकामा कसैले ढकढक्याउनेछ र ढोका खोल्दा उनी त्यहाँ हुनेछन्," मोरूपकी पत्नीले बीबीसीलाई बताइन्।
"जब उनी घर फर्कनेछन्, म उनलाई सोध्नेछु: 'तिमी यतिका वर्षसम्म कहाँ थियौँ?'"
चेतावनी: यस सामग्रीमा शवको तस्बिर समावेश छ।
ओर्लने बेलाको त्यो विपद्
सगरमाथाका लागि त्यस ऐतिहासिक भारतीय आरोहण दलमा सहभागी हुन जानु अघिको रात मोरूप लद्दाखस्थित आफ्नो घरमा श्रीमतीसँग बसेका थिए।
लद्दाख हिमालयको अर्को भागमा पर्ने भारत-प्रशासित क्षेत्र हो।
उनले आफ्नी श्रीमतीसँग एउटा वाचा गरे: उनी एक नायक बनेर फर्किनेछन् र देशलाई गौरवान्वित पार्नेछन्।
"उनले मलाई छोराछोरीको रेखदेख गर्न र उनी फर्किँदा स्वागत गर्न विमानस्थल आउन भनेका थिए," कोन्चक याङ्ग्स्कितले आफ्नो घरमा बीबीसीलाई सुनाइन्।
उनका पति चीनसँगको भारत जोडिएको अधिकांश सीमा क्षेत्रको सुरक्षा गर्ने फौज 'इन्डो-तिब्बेतन बोर्डर पुलिस' (आईटिबिपी) मा 'लान्स नाइक' (वा लान्स कर्पोरल)का रूपमा कार्यरत थिए।
४८ वर्षीय मोरूपका लागि हिमालयको पदयात्रा वा आरोहण कुनै नौलो कुरा थिएन।
तर याङ्ग्स्कित आफूलाई त्यस रात अनौठो किसिमको अनिष्टको आभास भएको सम्झन्छिन्: "मलाई कतै म उनलाई फेरि कहिल्यै देख्न नपाउने त होइन भन्ने लागिरहेको थियो!"
मोरूप आईटिबिपीको सगरमाथा चुचुरोमा पुग्ने प्रयासमा जुटेको त्यस आरोहण दलका छजना पर्वतारोहीमध्ये एक थिए।
सगरमाथा नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमामा अवस्थित छ।
अधिकांश पर्वतारोहीहरू नेपालतर्फबाट आरोहण गर्न रुचाउँछन्। तर मोरूपको आरोहण दल भने निकै जोखिमपूर्ण मानिने चीनतर्फको बाटोबाट आरोहण गर्ने पहिलो भारतीय टोलीका रूपमा इतिहासमा आफ्नो नाम लेखाउन चाहन्थ्यो।
सो आरोहण दलमा सहभागी छजनामध्ये तीनजना हिमआँधीका कारण फर्किए। तर मोरूप र अन्य दुईजना त्सेवाङ्ग समनला र त्सेवाङ्ग पालजोरले भने ८,८४९ मिटर अग्लो शिखरसम्म पुग्न निरन्तर सङ्घर्ष गरिरहे।
ओरालो झर्ने क्रममा उनीहरूमाथि हिम आँधीको विपत्ति आइलाग्यो र तीनैजनाको ज्यान गयो।
एक शताब्दीअघि अभिलेख राख्न थालिएयता सगरमाथा क्षेत्रमा ज्यान गुमाउने ३०० भन्दा बढी मानिसहरूमध्ये धेरैजसोकोझैँ उनीहरूको शव पनि हिमालमै रह्यो।
कहाँनिर छ शव?
दुई जनाको शव कहिल्यै फेला परेन। तर तेस्रो शव अर्थात् "ग्रीन बुट्स" भने ८,५०० मिटरको उचाइमा तीन दशकदेखि हिउँमा जमेको अवस्थामा छ।
वर्षौँसम्म "ग्रीन बुट्स" सोही अभियानका अर्का सदस्य त्सेवाङ्ग पालजोर नै हुन् भन्ने मानिन्थ्यो।
तर सन् १९९६ को आरोहण अभियानमा बाँच्न सफल सदस्यहरूको भनाइ र पर्वतारोहीहरूसँग अन्तिम पटक रेडियो सम्पर्क भएको स्थानका आधारमा अधिकारीहरू अब ती अवशेषहरू मोरूपकै हुन् भन्ने निष्कर्षमा पुगेका छन्।
सञ्चारमाध्यमसँग कुरा गर्ने आधिकारिक अनुमति नभएका कारण नाम नखुलाउने सर्तमा एक आईटीबीपी अधिकारीले यसबारे बीबीसी न्यूज हिन्दीसँग कुरा गरेका छन्।
उनका अनुसार हालैका वर्षहरूमा मोरूपका लुगा र पर्वतारोहणका 'गीअर'हरूले अधिकारीहरूलाई उनको शव पहिचान गर्न मद्दत गरेको थियो।
त्यसयता उनीहरू आफ्ना सहकर्मीको शव घर कसरी ल्याउने भन्ने योजना बनाउँदै थिए।
अधिकारीहरू डीएनए परीक्षणमार्फत् उनको पहिचानमाथि कुनै शङ्का नरहने गरी पुष्टि गर्न सकियोस् र उनका परिवारलाई केही हदसम्म भए पनि मानसिक शान्ति वा सन्तोष प्रदान गर्न सकियोस् भन्ने सोचिरहेको बताउँछन्।
"हामीले कहिल्यै उनलाई बिर्सन्नौँ। यो केवल समयको कुरा थियो," ती आईटीबीपी अधिकारीले भने।
कठिन हुनेछ शव ओराल्ने काम
हिमालमा मृत्यु भएकाहरूलाई ओराल्ने काम निकै खतरनाक र कठिन मानिने गर्छ। पछिल्ला दशकसम्मै त्यो निकै दुर्लभ छ।
मोरूपकोजस्तै कैयौँ शवहरू आरोहीहरूले सगरमाथाको 'डेथ जोन' भन्ने ठाउँमा छन् जहाँ तापक्रम माइनस ४० डिग्री सेल्सिअससम्म पुग्छ। र अक्सिजनको स्तर समुद्री सतहको तुलनामा करिब एक तिहाइ हुन्छ।
"मौसम र हिउँको अवस्था अहम् हुनेछ," अन्य त्यस्ता शव ओराल्ने अभियानहरूमा भाग लिएका एक नेपाली पर्वतारोही छिरिङ जाङबु शेर्पाले भने।
"उत्तरतर्फ कम दरारहरू छन्। तर यो निकै जोखिमपूर्ण छ। यदि नेपालतर्फबाट केही नराम्रो भयो भने तपाईँलाई हेलिकप्टरबाट तत्कालै उद्धार गरिन्छ। तर चीनतर्फ त्यस्तो कुनै प्रणाली छैन," उनले बीबीसी हिन्दीलाई भने।
चुचुरो पुग्ने चिनियाँ बाटोमा 'ग्नीन बुट्स'को शव छ। ठाडो भाग दक्षिणी मोहडातर्फजस्तै आड लिन सकिने परिवेश नहुनुलाई अर्को जटिलता मानिने शेर्पा स्रोतहरूले बीबीसी न्यूज नेपालीलाई बताएका छन्।
"लोकप्रिय वसन्त याममा पनि त्यो शरीरलाई तल झार्नु साँच्चै गाह्रो छ, शरद यामको के कुरा [जतिखेर निकै अप्रत्याशित मौसम हुन्छ]। शव यति धेरै वर्षसम्म त्यहाँ रहनुको सामान्य कारण त्यही हो," पर्वतारोहण गाइड पेम्बा ओङ्चु शेर्पाले बीबीसी न्यूज नेपालीसँग भने।
"त्यस बिन्दुमा पुग्नको लागि [आड लिने] डोरी टाँग्ने कामका लागि मात्रै पनि शिखर आरोहणका निम्ति काबिल मानिने १० देखि १२ पर्वतारोहीहरू हुनु आवश्यक पर्छ।"
'ग्रीन बुट्स'लाई पनि शारीरिक बलकै भरमा त्यस्तो उचाइसम्म ल्याइनुपर्नेछ जहाँ त्यसलाई हेलिकप्टर वा सम्भवतः याकमा बोकाइनेछ र विमानस्थलसम्म पुर्याएर घर फर्काइनुपर्नेछ। यस कामका लागि निकै ठूलो जनशक्ति पनि चाहिन्छ।
शेर्पाहरूका अनुसार आरोहण गीअरसाथ जमेर बसेका शवहरू प्रायः औसत मानिसको भन्दा निकै गह्रुँगा हुन्छन्।
र प्रायः अप्ठ्यारो ठाउँमा रहँदा यस्तो काम अझ बढी जोखिमपूर्ण बन्छ। ती अवशेषहरू कम उचाइमा पुगेपछि पनि पग्लिने र गल्ने हुन सक्छन्।
भारतीय पर्वतारोही कुन्तल जोइशरले बीबीसी न्यूज नेपालीलाई बताए अनुसार शवसहित ओरालो झर्ने काम सबैभन्दा कठिन हुनेछ।
"यो निकै नै धेरै जोखिमपूर्ण प्रयास हुनेछ। यो धेरै चट्टानहरू भएको अत्यन्तै भिरालो भाग हो। खासमा त्यसको [पहिलो] १,००० मिटर दुरीमा हुने काम निकै नै चुनौतीपूर्ण हुनेछ," जोइसरले भने। "मुख्य कुरा चाहिँ शवका लागि शेर्पाको जीवनलाई जोखिममा पार्नु हुँदैन।"
यी सबै कुराले यस अभियान अत्यन्तै महँगो हुन्छ जुन उनका आम परिवारको वशभन्दा परको कुरा हो।
सामान्य आरोहणमै पनि एकजना आरोहीको खर्च ४० देखि ८० हजार अमेरिकी डलरसम्म लाग्ने गर्छ।
आरोही टोलीहरूले हिमालमा मृत्यु भएका मानिसहरूलाई प्राय: केही छेउ सारेर राखिदिने गर्छन्।
जस्तै अन्वेषक फ्रान्सिस आर्सेन्टिएभको शव सगरमाथाको 'स्लिपिङ ब्युटी' भनेर चिनिन्छ।
सन् २००७ मा उनको मृत्यु भएको लगभग एक दशक पछि सगरमाथामा त्यसलाई थप केही कुनातिर सारिएको थियो।
तर शव ल्याउने यस कार्यलाई आर्थिक सहयोग गरिरहेको आईटिबिपीले आउँदो सेप्टेम्बरसम्ममा मोरुपको शव फिर्ता ल्याउन चाहेको र त्यसका लागि काबिल हिमाली उद्धारक शेर्पा समूहहरू खोजिरहेको जनाएको छ।
भारत फर्काइएपछि शवको डीएनए परीक्षण गरिनेछ। र, यदि मोरूप नै भएको पुष्टि भएमा उक्त अवशेष उनको परिवारलाई फिर्ता दिइनेछ।
'मेरो मनले उनको मृत्युको कुरा पत्याउनै मानेन'
वर्षौँदेखि लद्दाखमा रहेको मोरुपको परिवार उनी बेपत्ता भएको कुरा भुल्न सङ्घर्ष गरिरहेको बताउँछ।
अहिले ७५ वर्ष पुगेकी याङ्ग्स्कितलाई उनको विवाह भएको दिन सम्झन पनि गाह्रो पर्छ। तर उक्त त्रासदी पछिका दिनहरू उनको दिमागमा अझै पनि झलझली आउँछन्।
"मलाई हिमालमा आँधी आएको मात्र थाहा थियो। हामीले घरमा दाहसंस्कारको काम गरे तापनि मेरो हृदयले उनको मृत्यु भएको कुरा विश्वास गर्न अस्वीकार गर्यो," उनले रुँदै भनिन्। "मैले उनको मृत शरीर देखिनँ, त्यसैले मलाई विश्वास गर्न गाह्रो भयो।"
अहिले मोरुपको बाँकी स्मृति भनेका उनका सबै पदक र ट्रफीहरू हुन्।
उनको हिमाली साहसिक कार्यका केही पुराना तस्बिरहरूका साथै सबैभन्दा महत्त्वपूर्ण कुरा चिनियाँ सरकारले दिएको प्रमाणपत्र छ। त्यस एउटा प्रमाणपत्रमा सन् १९९६ को मे १० मा साँझको ५:३० बजे मोरूप सगरमाथाको चुचुरोमा पुगेको उल्लेख छ।
यदि शव ल्याउने अभियान सफल भएमा उनको परिवारले लद्दाखको राजधानी लेहको शहीद पार्कनजिकै उनको अन्त्येष्टि गर्ने मोरुपका छोरा पुन्चोक दोर्जाईले बीबीसीलाई बताए।
"मेरो बुबाले देशको लागि आफ्नो जीवन अर्पण गर्नुभयो र उहाँलाई शहीदको रूपमा सम्झनु पर्छ," दोर्जाईले भने। उनले ज्यान गुमाउने सो आरोहण दलका सबै सदस्यहरू समेत उही उपाधिको हकदार रहेको बताए।
परिवारले उनको सर्वोच्च शिखर पुगेको प्रमाणपत्रसँगै आफ्नो घरमा मोरुपको विरासतको प्रतीक पनि गर्वका साथ राख्नेछ। उनले भने: "हामी ग्नीन बुटहरू राख्ने योजनामा छौँ।"
(बीबीसी न्युज नेपालीका प्रदीप बस्यालको अतिरिक्त रिपोर्टिङ)
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।