टी रेक्सका हातहरू शरीरको तुलनामा किन साना थिए

टी रेक्स डाइनसरको अगाडिको आधा भागमा रहेको विशाल च्यापु र साना हातहरू देखाइएको एउटा तस्बिर
    • Author, डेइजी स्टेफन्स
    • Role, बीबीसी विश्व सेवा
  • Published
  • पढ्ने समय: ५ मिनेट

एउटा नयाँ अध्ययनले डाइनसोर टाइरानोसोरस रेक्स (टी रेक्स) र अन्य दुई खुट्टे डाइनसोरहरूको विशाल शरीरको तुलनामा साना साना पाखुराहरू किन हुन्थे भन्नेबारे जानकारी बाहिर ल्याएको छ।

"थेरोपडहरू खासगरी मांसाहारी दुई खुट्टे डाइनसोरहरू हुन्। कैयौँ विशाल स्वरूपका डाइनसोरहरू भए पनि उनीहरूका हास्यास्पदरूपमा साना पाखुरा हुन्थे", युनिभर्सिटी कलेज लन्डनका पीएचडी विद्यार्थी चार्ली रोजर शेरर भन्छन्।

टी रेक्सहरू करिब १२ देखि १३ मिटर लामा हुन्थे तर उनीहरूका हातहरू करिब १ मिटरका हुन्थे।

त्यसो हुनुको कारण के होला भन्नेबारे विश्लेषण गर्ने थुप्रै सिद्धान्त छन्।

त्यस्तो हुनुमा त्यस्तो स्वरूपको प्रजननमा भूमिका हुन सक्ने र जमिनबाट उठ्न सहयोग गर्न त्यसरी हात साना बन्दै गएको हुन सक्ने एउटा दृष्टिकोण छ।

घाँसमा उभिएर मुख खोलेको र अन्य डाइनसोरसँग रहेको टी रेक्सको तस्बिर। पृष्ठभूमिमा घाँस र पानीको स्रोत देखिन्छ
तस्बिरको क्याप्शन, धेरै जानकारी सङ्कलित भएकोमध्येको एक मांसाहारी टी रेक्स करिब ६८-६६ मिलिअन वर्ष पहिले उत्तर अमेरिकामा पाइन्थे

केम्ब्रिज विश्वविद्यालय र युनिभर्सिटी कलेज लन्डन (युसीएल) यूकेको एक नयाँ अध्ययनले उनीहरूका लामा हातहरूले खानेकुरा पक्रन नसक्ने भएकाले हराएर गएका र त्यसको बदलामा ठूला र शक्तिशाली टाउको तथा च्यापुहरू विकसित हुँदै गएका देखाएको छ।

बीबीसीको टुडे कार्यक्रममा बोल्दै युनिभर्सिटी अफ केम्ब्रिजकी डा. एलिजाबेथ स्टीलले भनिन् : जो पनि यति ठूलो मांसाहारी डाइनसोरको सानो हात पाखुरा किन हुन्छ भन्नेमा आश्चर्यचकित हुन्छन्।

यो समूहले अध्ययनका क्रममा थेरोपडको ८२ प्रजातिमाथि अनुसन्धान गरेको थियो र त्योमध्ये पाँच समूहमा टी रेक्स सहितका डाइनसोरहरूको हातहरू छोटो भएको पाइयो।

उनीहरूले आकार तथा हाडको बनोटको आधारमा खप्पर कति बलियो थियो भनेर मापन गर्ने तरिका पनि फेला पारे।

"र हामीले खप्पर र शरीरको आकारको अनुपात हेर्‍यौँ र हातको लम्बाइ र खप्पर तथा शरीरको आकारको तुलना गर्‍यौँ...र हामीले त्यस्तो प्रवृत्ति कस्तो थियो भन्ने पनि हेर्‍यौँ, स्टील भन्छिन्।

विकासक्रमको सिद्धान्तले के देखाउँछ

अनुसन्धानकर्ताहरूको समूहले अगाडिका हात छोटो हुनु र टाउको तथा च्यापु बलियो हुनुबीच नजिकको सम्बन्ध थियो भन्ने पत्ता लगाए। उनीहरूका अनुसार हात छोटो हुनु उक्त जनावरको शरीर ठूलो हुनुको परिणाम थिएन भन्ने थाहा हुन्छ।

वास्तवमा मजुङ्गासोरस जस्ता डाइनसरहरू माडागास्करमा बस्थे, उनीहरूका हात साना थिए र उनीहरूको शरीर पनि धेरै ठूलो थिएन। तर उनीहरूका शिर भने शक्तिशाली थिए।

"यस्ता खालका अनुकूलन चाहिँ विशाल शिकारहरू उपलब्ध रहेका ठाउँमा भएको देखियो," शेरर भन्छन्- शरीरको त्यस्तो प्रारूप सम्भवतः शिकार गर्ने तरिकासँग सम्बन्धित थिए।

चित्रमा एउटा सानो डाइनसोर दलदल झाडीमा दौडिरहेको छ
तस्बिरको क्याप्शन, मजुङ्गासरसहरू टी रेक्सका तुलनामा साना आकारका थिए र उनीहरूका अगाडिका बाहु साना थिए

थेरापडहरूको आहाराको एक हिस्सा विशाल शाकाहारी सरोपडहरू पनि थिए - लामा घाँटी, लामो पुच्छर भएका बिरुवा खाने डाइनसोरहरू।

अनुसन्धानकर्ताहरू खप्पर ठूलो र बलियो हुँदै जानुमा यी शाकाहारीका आकार बढ्नु र "विकासक्रममा अरूलाई जित्न" पञ्जाभन्दा मुख प्रयोग गर्नुपर्ने अवस्था आएको हुनसक्छ भन्ने अनुमान लगाउँछन्।

" आफ्नो पञ्जाले १०० फीट लामो सरोपड तानेर समात्ने कोशिस गर्नु उपयुक्त देखिन्न। मुखले आक्रमण गरेर पक्रनु चाहिँ बढ्ता प्रभावकारी भयो होला," शेरर भन्छन्।

"हमला गर्ने उपायमा हातको सट्टा टाउको प्रयोग हुन थाले। त्यसैले प्रयोग गर नत्र हराउँछ" जस्तो कुरा हो। हातहरू उपयोगी थिएनन् त्यसैले समयसँगै तिनको आकार घट्दै गयो।"

स्टीलका अनुसार कैयौँ डाइनसरहरूले आफ्ना अगाडिका हातहरूको पनि प्रयोग गर्दथे।

"तपाईँ देख्न सक्नुहुन्छ कि उनीहरूका खप्पर फरक छन्, लामा छन् र नाजुक पनि," उनी भन्छिन्।

 प्रदर्शनमा राखिएको एउटा उभिएको टी रेक्सको अस्थिपञ्जरको तस्बिर
तस्बिरको क्याप्शन, अध्ययनले देखाए अनुसार थेरोपडका विभिन्न समूहले आफ्ना अगाडिका हातहरू फरक प्रकारले छोट्याउँदै लगेका थिए

अध्ययनले खप्पर बलियो हुनु र अगाडिको खुट्टाको लम्बाइबीच सम्बन्ध छ भन्ने स्थापित त गर्छ तर एउटाका कारण अर्कोको हालत त्यस्तो हुन पुगेको भनेर प्रमाणित गर्न सक्दैन भन्ने शेरर मान्छन्।

तर उनले भने- अगाडिका हात छोटो हुनुभन्दा अगाडि नै खप्परको प्रारूप बलियो बनेको भन्ने कुराको "ठूलो सम्भावना" देखिन्छ।

"विकासक्रमको सिद्धान्तको दृष्टिकोणबाट हेर्दा पहिले हात छोटो भयो अनि खप्पर बलियो भयो भन्न नसकिने र यी शिकारी प्रजातिले उनीहरूको आक्रमणको शैली अर्को कुनै विकल्प नभई छोडे होलान् भन्नु तर्कसङ्गत देखिन्न," उनले भने।

टोलीले पत्ता लगाए अनुसार थेरोपडका विभिन्न झुण्डले आफ्ना अगाडिका हातहरू फरक फरक तरिकाले घटाएको जस्तो देखिन्छ : कसैले हात र कुहिनादेखि तलको पाखुरा छोट्याएको पाइन्छ जबकि अन्य समूहका डाइनसोरमा सम्पूर्ण हात नै समानुपातिक रूपमा छोट्टिँदै गएको पनि पाइन्छ। यसले समानान्तर किसिमका विकासक्रममा विभिन्न समूहले सम्भवत: समान किसिमका परिणाम प्राप्त गरे।

स्टील भन्छिन्, "अन्य मानिसहरूले शङ्का गरेको कुरालाई हामीले पुष्टि गरेका छौँ - यदि खप्पर विशाल छ भने हातहरू लामा हुन आवश्यक छैन।"

उनले थपिन्, "अन्य जनावरमा पनि बलियो खप्पर छ कि भनेर हेर्न यो तरिका प्रयोग गर्न सकिन्छ।"

"यो पङ्क्षीहरूमा जाँचेर हेर्न पाए रोचक हुने छ किनभने यी अहिले पनि हामीसँग रहेका थेरोपड डाइनसोरहरू हुन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।