संसद्मा एमाले नेता 'बादल'को 'विवादास्पद' अभिव्यक्ति निजी कि अध्यक्ष ओलीको पनि 'अनुमोदन'?

तस्बिर स्रोत, RSS
- Author, शरद केसी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभामा एमाले संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले बुधवार दिएको अभिव्यक्तिले फेरि उनको दलभित्र असन्तुष्टि उत्पन्न गरिदिएको देखिन्छ।
थापाले समय माग गर्दै प्रतिनिधिसभाको बैठकमा गरेको लिखित सम्बोधनमा सरकार र देशको सार्वभौमिकतालगायतसँग जोडिएका विषयमा अनेका आशङ्का र आरोपयुक्त आक्रामक अभिव्यक्ति दिएका छन्।
उनले आमचुनावमा झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेर बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारबारे भने, "कतिपय भूराजनीतिका सोधकर्ताहरूको दाबी छ, यो सरकारको शक्तिको स्रोत तीन 'ए' - आर्मी, एल्गरिदम र अमेरिका हुन्।"
लगत्तै सत्ताधारी रास्वपा सांसद समीक्षा बास्कोटाले थापाको अभिव्यक्तिले जनमतको अपमान गरेको भन्दै त्यसप्रति नियमापत्ति जनाएकी थिइन्।
के थापाको अभिव्यक्ति एमालेको आधिकारिक धारणा हो?
यस विषयमा बीबीसीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट र उनका आलोचक मानिने विभिन्न पदाधिकारीहरूसँग प्रतिक्रिया लिने प्रयास गरेको थियो।
उनीहरू आफूले थापाको अभिव्यक्ति नसुनेको भन्दै प्रतिक्रिया दिन तयार भएनन्। एमालेका उपमहासचिव रघुवीर महासेठले पनि त्यसबारे आफू बेखबर रहेको बताए।
तर थापाको सम्बोधनको सारबारे अवगत गराएपछि उनले टिप्पणी गरे, "यो हाम्रो पार्टीको कार्यदिशाको विपरीत हो।"
गत चैत १९ गते भएको प्रतिनिधिसभाको पहिलो बैठकमा पनि उनले यस्तै अभिव्यक्ति दिएका थिए।
"…मुख्यतः नेपाली सेना, ब्यूरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउन्डेशन एनजीओ आदि संस्था एवं पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो," रास्वपाको जितबारे थापाको भनाइ थियो, "यो जादुमय विजयका लागि बाह्य दृष्टिले कसकसले निर्णायक भूमिका निर्वाह गरे? असङ्ख्य तथ्यहरूले के स्पष्ट गर्दछन् भने अदृश्य शक्तिहरू, टीओबी, एआई, एल्गरिदम, गोयबल्सहरू…।"

तस्बिर स्रोत, RSS
त्यसले पार्टीमा उत्पन्न गरेको तरङ्गबीच भोलिपल्टै एमाले सचिवालयको बैठकले त्यसबारे "स्पष्ट" पारेको थियो। थापाकै अध्यक्षतामा बसेको बैठकमा थापाको "सम्बोधनका सम्बन्धमा गम्भीरतापूर्वक छलफल" भएको बताइएको थियो।
निर्णयमा भनिएको थियो, "बैठकले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (ब्यूरोक्रेसी) र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यससम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ।"
बैठकले निर्वाचनमार्फत् अभिव्यक्त भएको जनमतलाई सम्मान गर्दै विजयी सांसदहरू र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई बधाई दिएको थियो।
त्यही बैठकले मतदाता र निर्वाचन सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष भूमिका निर्वाह गरेका सबै संस्था र समूहलाई धन्यवाद पनि दिएको थियो।
ओलीको 'अनुमोदन'मा बादलको बोली?
तर अहिले उही शैलीमा नेता बादलको अभिव्यक्ति प्रतिनिधिसभामा दोहरिएको छ। राजनीतिक टिप्पणीकार तथा लेखक झलक सुवेदीको ठम्याइमा त्यो उनको निजी धारणा मात्र होइन, त्यो एमाले अध्यक्ष केपी शर्मा ओलीको अनुमोदनमा आएको हो।
"त्यो पार्टी अध्यक्ष ओलीकै लाइन हो," सुवेदी भन्छन्, "रामबहादुर थापाको आफ्नो विश्वास पनि त्यो होला, तर उनले अध्यक्षको बोली बोलेका हुन्।"
थापाले अघिल्लो पटक अभिव्यक्ति दिँदा ओली प्रहरीको गिरफ्तारीसँगै अस्पताल भर्ना भएका थिए।
त्यसैले त्यस बेला एमाले सचिवालयले थापाको अभिव्यक्ति सच्याउने कोसिस गरेको बताउने राजनीतिक टिप्पणीकार सुवेदी अघिल्लो पटक पनि "ओलीसँगको परामर्शमै थापाको सम्बोधन तयार भएको" विश्वास गर्छन्।
"अहिले अध्यक्ष र महासचिवबीच मतभिन्नता देखिएका बेला फेरि थापाको अभिव्यक्ति आएको छ," उनको विश्लेषण छ, "जसका पछाडि समाजमा आफ्नो राजनीतिक औचित्य र सान्दर्भिकता स्थापित गर्ने ओलीको उद्देश्य हुन सक्छ।"
"स्पष्टीकरण सोध्न सकिने"

तस्बिर स्रोत, Reuters
तर एमाले उपमहासचिव रघुवीर महासेठ उपाध्यक्ष थापाले अध्यक्ष ओलीको धारणाको प्रतिनिधित्व नगरेको ठान्छन्।
थापाले अझैँ पनि 'जनताको बहुदलीय जनवाद' (जबज) को मर्म बुझ्न नसक्दा उनले त्यस्तो अभिव्यक्ति दिने गरेको महासेठको ठम्याइ छ।
"माओवादी कालमा उहाँहरूको जुन रणनीति थियो, त्यो उहाँको दिमागबाट अहिले पनि गइसकेको छैन," उनले भने, "पार्टीको नेतृत्व गरिरहनुभएको अध्यक्षको जबज निर्माणमा कहीँ न कहीँ योगदान छ, त्यसैले रामबहादुर थापाले अध्यक्षको सल्लाहमा बोल्नुभएको होइन, उहाँ व्यक्तिवादी हुनुहुन्छ।"
उनले जेन जी आन्दोलनलाई दुरुपयोग गरिएको र त्यसको आडमा आगजनीलगायतका घटनाहरू सुनियोजित रहेको ठम्याइ आफ्नो पनि भएको बताए। खास गरी भदौ २४ गतेको घटनामा सेनाको भूमिकामा पनि कमजोरी रहेको आफ्नो ठम्याइ रहेको उनको भनाइ छ।
तर राष्ट्रको सुरक्षा अङ्गलाई लाञ्छना लगाउने र चुनावको परिणामसँग विभिन्न पक्षलाई जोड्ने नीति पार्टीको नरहेको महासेठको भनाइ छ।

तस्बिर स्रोत, Reuters
"या त हामीले चुनाव बहिष्कार गर्नुपर्थ्यो, भाग लिएर परिणाम स्वीकार गर्दै संसद्मा प्रवेश गरिसकेपछि जनताले दिएको अभिमतको विरुद्धमा बारम्बार त्यस्तो कुरा गर्नु उहाँको गल्ती हो," उनले भने, "एमालेले उहाँलाई स्पष्टीकरण सोध्न सक्छ।"
थापाले नेपालस्थित गुम्बाहरूमा हतियार राखिएको आशङ्कायुक्त आरोप लगाएका छन्। "कतिपय शोधकर्ताहरूले तिब्बती गुम्बाहरूमा ठूलो मात्रामा शक्ति सङ्ग्रह भइरहेको दाबी गरिरहेका छन्, कतिपयले त भाद्रमा लुटिएका हतियारहरू त्यहाँ लुकाइएको समेत आशङ्का गरेका छन्।"
नेपाललाई "प्रभाव क्षेत्र बनाउन महाशक्तिहरुबीच हानथाप कायम" रहेको उनको भनाइ छ। उनले "सरकारको विदेश नीति र राष्ट्रिय सुरक्षा रणनीतिमा खतरनाक विचलन देखा परेको" आरोप पनि लगाए।
"कतै नेपाल सिक्किमीकरणको खतरनाक मार्गमा अग्रसर भइरहेको त छैन भन्ने सर्वत्र चिन्ता बढाएको छ," एमाले नेता रामबहादुर थापाले भनेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















