रुस र उत्तर कोरियालाई सडकबाट जोड्ने पहिलो पुल अब सञ्चालनमा

तस्बिर स्रोत, Reuters
- Author, जेक क्वन
- Role, सोल संवाददाता
- Published
- पढ्ने समय: ४ मिनेट
रुस र उत्तर कोरियालाई सडकमार्गबाट जोड्ने गरी बनाइएको पहिलो पुल सञ्चालनमा आएको छ। उक्त पुलका कारण टूमन नदी तर्न अनि मालसामान ओसार्न अझ सहज हुने ठानिएको छ।
उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले यो पुल "जनशक्ति आदानप्रदान, पर्यटन र व्यापार" का लागि प्रयोग गरिने जनाएको छ।
तर युक्रेनी ओपन सोर्स इन्टेलिजन्स समूह 'ट्रूथ हाउन्ड्स'ले उक्त पुल युक्रेन युद्धमा रुसलाई सघाउन "मूलतः सैन्य बन्दोबस्तीका सामान ओसार्ने गुप्त मार्ग" बनाउने उद्देश्यले निर्माण गरिएको जनाएको छ।
युक्रेन युद्ध सुरु भएयता उत्तर कोरिया र रुसबीच सम्बन्ध गहिरिँदै गएको बेला उक्त पुल निर्माण भएको हो। यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जङ अनले कुनै एक देशविरुद्ध "आक्रमण" भएमा एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनले नवनिर्मित पुललाई "मित्रताको नयाँ प्रतीक" भनेका छन्। उत्तर कोरियाका प्रधानमन्त्री पाक टे-सङले पुल निर्माण र सञ्चालनलाई "ऐतिहासिक घटना"को सङ्ज्ञा दिएका छन्।
अहिले मालसामान ढुवानीका लागि प्रयोग गरिने

तस्बिर स्रोत, Reuters
रुसी सरकारी समाचारसंस्था टासका अनुसार दैनिक ३०० वटा सवारीसाधन र २,३०० जनाभन्दा केही बढी मानिसले यो पुल तरेर वारपार गर्न सक्ने छन्।
गत मे महिनामा बीबीसीले सार्वजनिक गरेका स्याटलाइट तस्बिरमा झन्डै एक किलोमिटर लामो उक्त पुलसँगै नयाँ पहुँचमार्गहरू, एउटा सीमा जाँचचौकी, अन्य भौतिक संरचनाहरू र पार्किङस्थलहरू देखिन्थे।
दुई देशबीच हवाई र रेल सेवा पहिलेदेखि सञ्चालनमा थिए। समाचारसंस्था रोएटर्सका अनुसार यसअघि प्रयोग गरिँदै आएको एकमात्र सडकमार्ग कामचलाउ अवस्थामा मात्र थियो। उक्त सडकमा गाडी चलाउन रेलको पुलमा फल्याकहरू राखिएको थियो।
रोएटर्सका अनुसार रुस सरकारले सुरुमा यो पुल मालसामान ढुवानीका लागि प्रयोग गरिने र यसै वर्षपछि यात्रु आवागमनका लागि खुला गरिने जनाएको छ।
रुसतिर हतियार जान सक्ने सम्भावना
पुलको उद्घाटन समारोहमा भिडियोमार्फत् सहभागी भएका मिशुस्तिनले मस्को र प्योङ्याङबीचको सम्बन्ध "अभूतपूर्व उच्चस्तरमा" पुगेको टिप्पणी गरे।
उनले पुलले "व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक र सांस्कृतिक सहकार्यको थप विकासका लागि शक्तिशाली गति प्रदान गर्ने" धारणा व्यक्त गरे।
यो पुल सञ्चालनमा आपएपछि तत्कालै रुसतर्फ हतियार निर्यात बढ्न सक्छ।
दक्षिण कोरियाको गुप्तचर निकायका अनुसन्धानकर्ताहरूका अनुसार उत्तर कोरियाले पानीजहाजमार्फत् ७ अर्बदेखि १४ अर्ब अमेरिकी डलरसम्म मूल्यका रकेट, क्षेप्यास्त्र र तोपका गोलाहरू रुसतर्फ पठाइसकेको छ। अहिले झन्डै ११,००० उत्तर कोरियाली सैनिकहरू रुसमा युक्रेनी सेनाविरुद्ध सक्रिय रूपमा लड्दै छन्।
ट्रूथ हाउन्ड्सले हालैको एउटा विज्ञप्तिमा सन् २०२४ मा भएको दुई देशबीचको रणनीतिक साझेदारी सन्धिलाई दृष्टिगत गर्दा यो पुल उत्तर कोरियाली सैनिकहरू, निर्माणकार्यमा काम गर्ने श्रमिकहरू र उच्च सैन्य अधिकारीलाई सीधै रुस पुर्याउन प्रयोग हुन सक्ने जनाएको छ।
"यसले अर्को दिशातिर रुसी प्रविधि र स्रोतसाधनको प्रवाहलाई पनि सम्भव बनाउने छ।"
४९५ दिनमा बनेको पुल
यो पुलको निर्माण सन् २०२५ मा सुरु भएको थियो। त्यसअघि अघिल्लो वर्ष पुटिन उत्तर कोरिया भ्रमणमा जाँदा पुल बनाउने सहमति भएको थियो।
पुटिनले २४ वर्षपछि प्योङ्याङको भ्रमण गर्दा दुई देशबीच साझेदारी सन्धि पनि भएको थियो। उक्त पुलको निर्माण सम्पन्न गर्न ४९५ दिन लाग्यो।
सन् २०२४ मा प्रवेश गर्ने अनुमति पाउन थालेपछि रुसी पर्यटकहरू उत्तर कोरियातिर जान थालेका छन्। उनीहरू राजधानी प्योङ्याङ तथा वोन्सान-काल्मा समुद्री तटमा अवस्थित पर्यटकीय क्षेत्रहरूतिर जाने गरेका छन्। तर अन्य देशका नागरिकहरूका लागि प्रवेशका लागि लागेको रोक अझै कायम छ।
यो सडकबाट हुँदै उत्तर कोरियाली श्रमिकहरू पनि रुस जाने ठानिएको छ।
दक्षिण कोरियाले गरेको एउटा अनुमानअनुसार झन्डै १०,००० उत्तर कोरियाली नागरिकहरू रुसमा निर्माणस्थल र काठ कटानी गर्ने स्थानहरूमा काम गर्दै आएका छन्।
संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियाली श्रमिक प्रयोग गर्न प्रतिबन्ध लगाए पनि धेरैजसो मानिसहरू विद्यार्थी भिसाका आडमा रुस छिर्ने गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















