ठूलो आँधी आएपछि चीनले १० लाख मानिसलाई सुरक्षित स्थलमा सार्‍यो

टाइफून डल्फिनका कारण पूर्वी चीनमा जनजीवन प्रभावित

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, टाइफून डल्फिनका कारण पूर्वी चीनमा जनजीवन प्रभावित भएको छ
    • Author, केली अङ
  • Published
  • पढ्ने समय: ४ मिनेट

चिनियाँ अधिकारीहरूले टाइफून डल्फिनका कारण देशको आर्थिक राजधानी शाङ्घाईसहित पूर्वी चीनका विभिन्न क्षेत्रबाट १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन्।

टाइफूनका कारण भारी वर्षा भएको छ भने यो क्षेत्रको यातायातसमेत प्रभावित भएको छ। सोमवार मात्रै शाङ्घाईमा करिब १ हजार उडानहरू रद्द भए।

अधिकारीहरूले डल्फिनलाई अहिले 'ट्रपिकल स्टर्म'को स्तरमा झारेका छन् तर आँधी उत्तरतर्फ अघि बढिरहेकाले बुधवारसम्म मुसलधारे वर्षा, गम्भीर बाढी र पहिरोको जोखिम रहेको चेतावनी जारी राखिएको छ।

सरकारको चेतावनी

चीनमा यो वर्षको सबैभन्दा शक्तिशाली आँधी डल्फिनबारे चीनका अधिकारीहरूले यसअघि नै उच्च तहको चेतावनी दिएका थिए।

मौसमसम्बन्धी अधिकारीहरूका अनुसार आइतवार साँझ साँढे पाँच बजे जेजिआङ प्रान्तको युहानमा पहिलोपटक जमिनमा प्रवेश गर्दा डल्फिनको अधिकतम गति १५० किलोमिटर प्रतिघण्टा थियो।

शाङ्घाईसहित शान्डोङ, हनान, हुबेई, आन्ह्वे, जिआङसू, जेजिआङका प्रान्तहरूमा सोमवार भारी वर्षा हुने पूर्वानुमान गरिएको थियो।

सरकारले मानिसहरूलाई बाह्य गतिविधि नगर्न आह्वान गरेको छ। डिज्नील्यान्ड, लेगोल्यान्डजस्ता पर्यटकहरूको आकर्षणका थुप्रै क्षेत्रहरू बन्द रहेका छन्।

प्रभाव

शाङ्घाईका गल्लीहरूमा पानीले डुबेका सडकहरूमा हिँड्दै स्थानीय बासिन्दा

तस्बिर स्रोत, Getty Images

पर्यटकहरूमाझ चर्चित रहेका शाङ्घाईका क्षेत्रहरूमा भवनका भुइँतलामा रहेका व्यापार तथा व्यवसाय बाढीका कारण प्रभावित भएका छन्। मानिसहरूका गोलीगाँठासम्म भिज्ने पानी सडकमा देखिन्छ।

बगाएर समुद्रमा पुर्‍याएका जेजिआङका एक नौ वर्षीय बालक हराइरहेको थुप्रै सञ्चारमाध्यमले बताएका छन्। चिनियाँ अधिकारीहरूले हताहत हुनेहरूको कुनै विवरण दिएका छैनन्।

जेजिआङ प्रान्तको राजधानी हाङ्जोका अधिकारीहरूले तीव्र हावाहुरी र बाढीको पानीका कारण सुरक्षित स्थल खोजिरहेका चालकहरूका लागि सबै सार्वजनिक स्थलमा पार्किङ शुल्क मिनाहा गरेका छन्।

वेन्जोका अधिकारीहरूले करिब नौ लाख बासिन्दालाई पुनर्वास गराएका छन् र आपत्कालीन समयमा बास दिने करिब १,००० वास स्थानको व्यवस्था गरेका छन्। त्यस्तै टाइजो सहरका तीन लाख ९० हजार मानिसलाई उनीहरूको घरबाट अन्यत्र सुरक्षित स्थानमा पुर्‍याइएको छ।

फूजीयानको तटीय प्रान्तमा समुद्री अधिकारीहरूले दर्जनौँ यात्रुवाहक फेरी सेवा चल्ने जलमार्गहरू स्थगित गरेका छन् भने १०० भन्दा बढी समुद्री निर्माण परियोजनाहरूको काम पनि रोकिएको छ।

चीनको सरकारी प्रसारक सीसीटीभीका अनुसार उक्त आँधीले ६,००० किलोमिटरको लामो दूरी पार गरेको थियो। यसले सामान्य टाइफूनको तुलनामा तीन गुणाभन्दा बढी समयसम्म रहिरहने क्षमता राख्छ।

सीसीटीभीका अनुसार आँधीले निकै ठूलो घेरा लगाएको छ र व्यापक वर्षा गराउने क्षमता पनि धेरै रहेको छ।

गलत सूचनाहरू

आँधीका कारण यातायात सेवा अवरुद्ध भएको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, आँधीका कारण यातायात सेवा अवरुद्ध भएको छ

आँधीबारेका गलत सूचनाहरू चीनमा व्यापक रूपमा फैलिएका छन्। सरकारी सञ्चारमाध्यमले भने त्यस्ता सामाग्री पठाउने दुई जनालाई गिरफ्तार गरिएको जनाएको छ।

दुईमध्ये एक ६० वर्षीय पुरुषले आर्टिफिशल इन्टेलिजन्स (एआई) प्रयोग गरेर नक्कली भिडिओ बनाएका थिए। उनले भिडिओमा शाङ्घाईमा आँधीका बेला एक जना भवनबाट खसेको दाबी गरेका थिए।

अर्का ३२ वर्षीय पुरुषले अर्का एक प्रयोगकर्ताको भिडिओ सामाग्रीलाई पुनः सम्पादन गरेर भ्रामक बनाएका थिए।

डल्फिनका कारण फिलिपिन्स, उत्तरी ताइवानका केही भागहरू र जापानको ओकिनावा तटमा मुसलधारे पानी परेको थियो।

फिलिपिन्समा देशभरिमा सात हजारभन्दा बढी मानिसहरू सुरक्षित स्थलमा बास लिइरहेका छन्

तस्बिर स्रोत, Getty Images

नागरिक सुरक्षा कार्यालयका अनुसार यो साताको सुरुमा आएको आँधी र डल्फिनले निम्त्याएको भारी वर्षाका कारण फिलिपिन्समा आठ जनाको मृत्यु भएको छ। देशभरिका विभिन्न आश्रय स्थलमा ७,००० भन्दा बढी मानिसहरूलाई राखिएको छ।

जापानको ओकिनावामा पाँच वृद्धहरू घाइते भएको र उनीहरूको अवस्था खतरामुक्त रहेको त्यहाँको स्थानीय सरकारले जानकारी दिएको छ।

एकदमै शक्तिशाली आँधीका कारण तीन जना लडेको बताइएको छ।

त्यस्तै हङकङमा टाइफूनका कारण तातो हावा सहरभरि फैलिँदा मौसमसम्बन्धी निकायले आइतवार ३६.९ डिग्री सेल्सिअसको उच्च तापक्रम मापन गरेको छ।

पश्चिमी प्रशान्त क्षेत्रमा टाइफूनहरू बढी देखिनु सामान्य मानिन्छ। यो वर्ष एल निन्यो भनिने मौसमी प्रणाली बलियो देखिएको र विज्ञहरूका अनुसार त्यसको अर्थ यस्तो अवस्थामा टाइफूनहरू अझ शक्तिशाली र तीव्र बन्न सक्नेछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।