एक साताभित्रै १३० भन्दा धेरै पहिरोका घटना, नेपालभरि कम्तीमा २२ जनाको मृत्यु

जाजरकोट पहिरो

तस्बिर स्रोत, DPO, Jajarkot

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

गएको एक सातामा नेपालमा देखा परेको सबैभन्दा मुख्य बर्खे विपद्का रूपमा पहिरोमा परेर कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

साउन ३१ गतेसम्मको पछिल्लो एक सातामा १३२ वटा वटा ठूला पहिरो जाँदा त्यस्तो क्षति हुन पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले बर्खे विपद्का रूपमा पछिल्लो एक साता "निकै खराबमध्येको रहेको" बताउँदै मुख्य रूपमा रोल्पा र जाजरकोट जिल्लामा "निकै दुःखदायी घटनाहरू घटेको" बीबीसीलाई बताइन्।

"रोल्पामा मात्र पछिल्लो एक साताभित्रै १७ जना, जाजरकोटमा ४ जना र बाजुरामा १ जनाको मृत्यु पहिरोका कारण भयो," महत भन्छिन्।

"त्यहाँ अहिले पनि २०० जनाभन्दा धेरै मानिसहरूलाई अन्यत्र आश्रय स्थलहरूमा राखिएको अवस्था छ।"

विपद्का यिनै घटनामाझ आइतवार सिंहदरबारमा मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक बसेर प्रभावितहरूलाई "कानुन बमोजिम दिनुपर्ने राहत तुरुन्तै दिन निर्देशन दिइएको" प्रवक्ता महतले जानकारी दिइन्।

"त्यसबाहेक अस्थायी आवास र निजी आवासका लागि गर्नुपर्ने काम पनि तुरुन्तै अगाडी बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ।"

जल तथा मौसम विज्ञान विभागका मौसमविद्हरूले खासगरी पश्चिमी पहाडी भेगमा मङ्गलवारसम्मै कतिपय ठाउँमा भारी र अति भारी वर्षाको पूर्वानुमान रहेको भन्दै "सतर्क रहनुपर्ने अवस्था"का रूपमा औँल्याइएको बताएका छन्।

पश्चिम नेपालमा धेरै वर्षा

मौसम अधिकारीहरूले खासगरी बागमती प्रदेशदेखि पश्चिमपट्टी वर्षाको क्रम पछिल्ला दिनमा "निरन्तर र बढ्दो मात्रामा" रहेको बताएका छन्।

विभागका मौसमविद् डेभिड ढकालले बीबीसीसँग भने: "आइतवार रातीदेखि सोमवारसम्मै पश्चिम नेपालमा उल्लेख्य वर्षा हुनसक्ने पूर्वानुमान छ। खासगरी लुम्बिनी प्रदेशको पश्चिमी भाग र सुदूरपश्चिम प्रदेशमा सामान्यभन्दा बढी वर्षा हुने देखिन्छ।"

उनका अनुसार पछिल्ला केही दिनमा देशव्यापी रूपमा वर्षा भइरहँदा समेत कोशी प्रदेशका तराई भूभाग र मधेश प्रदेशमा भने अझै "लगभग वर्षा नभइरहेको" अवस्था छ।

कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा बर्खायाममा नियमित यातायात सञ्चालनका लागि मुख्य चुनौति बनेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित सिरुवारी पहिरो

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, नेपालमा कैयौँ सडकहरू पहिरोबीचबाटै सञ्चालन छन्

वर्षा गराउने न्यून चापीय रेखा नेपालको नजिक रहिरहँदा मध्यदेखि पश्चिम नेपालसम्म वर्षाको गतिविधि उच्च रहेको देखिन्छ।

यो वर्ष सरदर मितिभन्दा करिब एक साता ढिलो गरेर जुन १९ मा नेपालमा मनसुन भित्रिएको थियो।

नेपालमा मनसुन भरिमा करिब १,५०० मिलिमिटर पानी पर्छ। विभागले मूल्याङ्कन गर्ने २० वटा मापन केन्द्रको विवरण अनुसार अगस्ट १४ सम्मको आँकडा हेर्दा करिब ५३ प्रतिशत परिमाणमा पानी परिसकेको देखिएको मौसमविद् ढकाल बताउँछन्।

अहिलेसम्म मनसुनमा सरदर हुनेभन्दा आधा नै परिमाणमा वर्षा भइसकेको भए तापनि यस अवधिमा हुनुपर्ने भन्दा कम नै वर्षा भइरहेको अवस्था रहेको उनी बताउँछन्।

"यसपटक धेरैतिर खण्डित रूपमा वर्षा भइरहेको अवस्था छ। जस्तो, पछिल्लो चौबिस घण्टामै बर्दियामै एउटा मौसम मापन केन्द्रमा १४० मिलिमिटर वर्षा हुँदा नजिकैको अर्को केन्द्रमा ३२ मिलिमिटर वर्षा भएको पनि देखियो," ढकालले भने।

पहिरो - यस वर्षायामकै घातक कारण

आइतवार सिंहदरबारमा मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक बस्यो

तस्बिर स्रोत, NDRRMA

तस्बिरको क्याप्शन, आइतवार सिंहदरबारमा मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक बस्यो

मनसुनजन्य विपद्‌लाई नेपालमा बाढी, पहिरो, चट्याङ र भारी वर्षा गरेर चार वर्गमा विभाजन गरिएको छ। यस वर्ष मनसुन भित्रिए यता त्यस्ता १ हजार ३ सय भन्दा धेरै घटना देखा परेको अधिकारीहरू बताउँछन्।

"करिब दुई महिनाबीचमा यी विपद्‍मा सबैभन्दा धेरै मृत्युको कारण पहिरो नै छ। त्यसमा परेर कम्तीमा ३९ जनाको मृत्यु भएको विवरण छ," राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता महत भन्छिन्।

"एउटा तत्कालीन कारण लामो समय निरन्तर पानी पर्दा पहिरोका यस्ता घटना भएका देखिन्छन्। त्यससँगै पहिरोका सङ्केत बुझ्ने जनचेतना हाम्रोमा एउटा मुख्य समस्या रहने गरेको छ।"

प्राधिकरणका अनुसार पछिल्लो मनसुनी अवस्थामा पहिरोबाहेक बाढीका कारण १४ जना, चट्याङका कारण १३ जना र भारी वर्षाका कारण एक जनाले ज्यान गुमाएका छन्।

यसबीचमा डेढ दर्जनभन्दा धेरै जिल्लाहरू पहिरोबाट प्रभावित भएका छन्। जसकै कारण बारम्बार मुख्य सडकहरू अवरुद्ध हुने गरेका पाइन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।