तेलको भाउ अकासिँदा विश्वभरि सर्वसाधारण मानिसको दैनिक जीवनमा पनि प्रहार

तस्बिर स्रोत, Getty Images
- Author, लुइस बरूशो
- Role, बीबीसी विश्व सेवा
- पढ्ने समय: ५ मिनेट
अहिले विश्वबजारमा तेलको मूल्य सन् २०२२ मा युक्रेन युद्धको आरम्भ भएयताकै उच्चतम बिन्दुमा पुगेको छ। अमेरिकी सेनाले राष्ट्रपति डोनल्ड ट्रम्पलाई इरानविरुद्धको कारबाहीका नयाँ विकल्प प्रस्तुत गर्ने विवरणका माझ विश्वभरि चिन्ता बढेको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डले तेहरानसँगको वार्तामा उत्पन्न गतिरोध हटाउन छोटो र शक्तिशाली हमलाको योजना बनाएको एक्सिअस न्यूजले जनाएको थियो। बीबीसीले यसबारे सेन्ट्रल कमान्ड र ह्वाइट हाउससँग प्रतिक्रियाको निम्ति सम्पर्क गरेको छ।
तर यसको सम्भावित प्रभाव तेलको मूल्यभन्दा निकै विस्तारित हुन्छ। विज्ञहरूका अनुसार यसको शृङ्खलाबद्ध असर पर्छ। तेलको भाउ बढ्दा त्यसको प्रभाव विश्वभरिको अर्थतन्त्रमा फैलिन्छ।
डेटा तथा एनलिटिक्स प्ल्याट्फर्म केप्लरका वरिष्ठ तेल विश्लेषक नबिन दासका अनुसार तेलको मूल्यवृद्धिले "लगालग अन्य प्रभाव पार्छ, मुद्रास्फीति बढ्छ अनि हाम्रा दैनिक जीवनका लगभग सबै पक्षमा असर पर्छ।"
"अनि हामी सम्भवतः फेरि तनाव मत्थर पार्ने प्रयासहरूबारे शीर्ष समाचार देख्ने छौँ," उनले भने।
१. महँगो तेल
यो प्रस्थान बिन्दु हो। आपूर्ति चिन्ता, भूराजनीतिक द्वन्द्व वा बजार अनुमानका कारण कच्चा तेलको भाउ बढ्छ।
यो साता बिहीवार 'ब्रेन्ट क्रूड' भनिने कच्चा तेलको मूल्य करिब ७ प्रतिशतले बढेर १२६ डलर प्रतिब्यारलसम्म पुग्यो। तर पछि युरोपेली बजारमा कारोबार हुँदा झन्डै ११६ मा कायम भयो। इरान र अमेरिकाबीचको शान्तिवार्ता अवरुद्ध भएका कारण यो साता इन्धनको मूल्य लगातार बढिरहेको छ। यतिखेर होर्मुज जलमार्ग लगभग ठप्प छ।
इरानविरुद्ध अमेरिका-इजरेल युद्ध सुरु हुनुअघि ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारल ७० डलरजति थियो - बिहीवारको उच्चबिन्दुभन्दा ८०% कम।
पेट्रोल र डीजलका निम्ति कच्चा तेल मुख्य कच्चा पदार्थ हो। अर्थात् थोक मूल्य बढ्नासाथ त्यसको प्रभाव पेट्रोल पम्पहरूमा पर्छ।
२. तेलसँग सम्बन्धित अन्य वस्तुमा कस्तो प्रभाव

तस्बिर स्रोत, Getty Images
तेल केवल इन्धनका रूपमा मात्र प्रयोग हुँदैन। यसबाट अन्य धेरैथरी वस्तुको उत्पादन गरिन्छ। फलस्वरूप कच्चा तेलको उच्च मूल्यले हवाई इन्धन, प्लास्टिक र प्याकेजिङ, रसायन तथा रासायनिक मलका उद्योगहरूको उत्पादन लागत बढ्छ।
द्वन्द्वका कारण ऊर्जा, खाद्यपदार्थ र हवाई भाडा पनि महँगिन सक्छन्।
कतिपय एअरलाइन्सहरूले हवाई भाडा बढाइसकेका छन्। रासायनिक मलको भाउ पनि बढ्न थालेको छ। यसले गर्दा खानेकुराको मूल्य बढ्न सक्छ।
लगानीसम्बन्धी कन्सल्ट्यान्सी वेल्थ क्लबकी मुख्य लगानी रणनीतिकार सुजाना स्ट्रीटर मूल्यवृद्धि अर्को वर्षसम्म जारी रहन सक्ने ठान्छिन्।
"मलका निम्ति उपयोग हुने युरियाको ढुवानी ठप्प छ र यसले विश्वभरि किसानहरूका निम्ति लागत बढेको छ," उनले भनिन्।
"यी वृद्धि अब आपूर्ति शृङ्खलामार्फत् विस्तारित हुन्छन् र यो वर्षको अन्त्य तथा अर्को वर्षसम्म दैनिक जीवनका सबै खाले सामानको भाउ बढ्छ भन्ने चिन्ता छ।"
३. यातायात अझ महँगो हुन सक्छ

तस्बिर स्रोत, Saqib Majeed / SOPA Images / LightRocket via Getty Images
खाद्यपदार्थ, उपभोक्ता सामग्री वा कच्चा पदार्थसहितका वस्तुहरूको ढुवानी यातायातमा निर्भर हुने हुनाले इन्धनको मूल्य चर्किँदा ती उपभोक्ताहरूसम्म पुग्दा महँगिसक्छन्।
सरसामानको ढुवानी खर्च बढ्दा व्यापारी तथा व्यवसायीहरूले प्राय: त्यो अतिरिक्त भार उपभोक्ताको थाप्लोमा हालिदिन्छन्। फलतः सरसामानको खुद्रा मूल्य पनि बढ्छ।
४. समग्र मुद्रास्फीतिमा वृद्धि
यस्तो मूल्यवृद्धि विश्वव्यापी अर्थतन्त्रमा जम्मा हुँदै जान्छ। ऊर्जा थप महँगो हुँदा व्यवसायहरूका निम्ति सञ्चालन खर्च बढ्छ - कारखाना चलाउनदेखि लिएर तापक्रम मिलाउन तथा ढुवानी गर्नसम्म लागत बढ्छ।
खानेकुराको भाउ पनि बढ्छ किनकि खेतीपाती, प्याकेजिङ तथा वितरण कार्य तेलसँग सम्बन्धित इन्धन तथा रासायनिक मलको भाउमा भर पर्छन्। लत्ताकपडादेखि विद्युतीय सामग्रीसम्म दैनिक जीवनका सरसामानको उत्पादन तथा ढुवानी महँगो हुन्छ।
विभिन्न क्षेत्रमा अकस्मात् यस्तो वृद्धि देखा पर्दा मूल्यचाप थप विस्तारित र निरन्तर हुन्छ। यो प्रवृत्ति तात्कालिक मात्र हुनुको साटो लामो समय निरन्तर रह्यो भने त्यसलाई अर्थविद्हरूले मुद्रास्फीति भन्छन् - जीवनयापनको लागतमा समग्र, तथा निरन्तर वृद्धि हुने अवस्था।
"सारा संसारले यो बेहोर्ने छ, कुनै देशले अलि बढी र कुनैले अलि कम," ब्रजिलका अर्थविद् आन्द्रे पर्फेटोले भने।
"उदाहरणका लागि, ब्रजिलले निकै पीडा सहिरहेको छ," उनले भने। पछिल्ला महिनाहरूमा केन्द्रीय ब्याङ्कको लक्ष्यभन्दा मुद्रास्फीतिको दर निरन्तर माथि रहेको उनले बताए।
सन् २०२५ को मध्यमा ब्रजिलको वार्षिक मुद्रास्फीति ५% सम्म पुगेकोमा सन् २०२६ को आरम्भमा त्यो घटेर ४.३%-४.४% रह्यो। यद्यपि लक्ष्य ३% मात्र थियो। अब मध्यपूर्वको युद्धका कारण यो वर्षको अन्त्यमा उक्त दर ४.८६% पुग्ने त्यहाँको केन्द्रीय ब्याङ्कले बताएको छ।
अन्य कतिपय देशहरूले पनि त्यस्तै अवस्था बेहोरिरहेका छन्।
५. दैनिक जीवनमा प्रभाव

तस्बिर स्रोत, Getty Images
अन्तत: घरपरिवारमा यस्तो मूल्यवृद्धिले दैनिक जीवनमा बहुआयामिक प्रभाव पार्छन्। किराना सामानको खर्च, यताउता जाने यातायात खर्च तथा पानी र बिजुलीका शुल्क सबै बढ्छन्।
जीवनयापनको लागत बढ्दा श्रमिकहरूले ज्याला वृद्धिको माग गर्न सक्छन् जसले फेरि मुद्रास्फीतिमा चाप पार्छ। परिणामस्वरूप केन्द्रीय ब्याङ्कहरूले मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर बढाइदिन सक्छन्। त्यसो भयो भने ऋण महँगो हुन्छ र खर्च तथा सापटी निरुत्साहित हुन्छन्।
पाकिस्तान र बाङ्ग्लादेशजस्ता केही देशमा इन्धन जोगाउन र लागत घटाउन स्कूल बन्द गर्न आदेश दिइएको छ।
"यी सबै क्रियाकलापले अर्थतन्त्र शिथिल गराउने अवस्था बन्दै छ र त्यसले विश्वव्यापी मन्दी निम्त्याउँछ," पर्फेटोले भने।
"तत्कालका लागि समस्या समाधान होला भन्ने त्यति आश छैन। तत्कालै ट्रम्पले यसलाई मत्थर पार्लान् भन्ने मलाई विश्वास छैन," उनले भने।
आफ्नो पछिल्लो वर्ल्ड इकोनोमिक आउटलुकमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले इरान युद्धले विश्वको अर्थतन्त्रलाई खलबलाइदिने जोखिम रहेको चेतावनी दिँदै द्वन्द्व लम्बिए विश्वव्यापी मन्दीको जोखिम बढ्ने जनाएको छ।
साथै उसले उच्च मुद्रास्फीतिको प्रतिक्रियामा ब्याज दर बढाउनेबारे केन्द्रीय ब्याङ्कहरू सजग रहनुपर्ने भनेको छ।
तर बीबीसी न्यूजसँग कुरा गर्दै अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यदि इरानले परमाणुअस्त्र बनाउने जोखिम घट्छ भने "केही साताका निम्ति थोरै आर्थिक पीडा" सहनुपर्ने बताए।
"दीर्घकालीन सुरक्षाका निम्ति तात्कालिक प्रक्षेपणबारे म खासै चिन्तित छैन," उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।























